BIZMANDU
www.bizmandu.com

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनियर प्रमोद, भन्छन्- जे गर्छु नेपालमै गर्छु

२०८१ माघ ७

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनियर प्रमोद, भन्छन्- जे गर्छु नेपालमै गर्छु
गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनियर प्रमोद, भन्छन्- जे गर्छु नेपालमै गर्छु


इलाम। सूर्योदय नगरपालिका-१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो। उनले २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियर’ उत्तीर्ण गरेर गाउँ फर्किएका थिए।

Tata
GBIME
NLIC

‘१५ लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना-ठूला गरी ४ सय ५० भवन निर्माणमा ३ लाख ५० हजारभन्दा बढी इँटा प्रयोग भइसकेको छ।’

उद्योगमा ७ जनाले रोजगारी समेत पाएका छन्। महिनामा ७ हजार इँटा उत्पादन हुन्छ। १ हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताए।

‘नगरपालिकाले नै इँटाको प्रति गोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ,’ उनले भने, ‘कच्चापदार्थ महँगो छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ। महिनामा त्यस्तै १ लाख जति बचत छ।’

ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपीसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए।

उनले भने, ‘यी सामग्री काठमाडौं, दाउन्ने, झापाको विर्तामोड र सुपर प्लास्टिक साइजर चाहिँ उडिसाबाट ल्याउने गरिएको छ।’

उद्योगको उत्पादनले इँटाको माघ धान्न सकेको छैन। सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माघ हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माघ पूरा गर्न नसकिएको स्वस्तिका सापकोटा भट्टराईले बताइन्। ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माघ बढिरहेको उनको भनाइ छ।

उनले भनिन्, ‘पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएको छ। त्यसमा हाम्रो उत्पादन प्रयोग गर्नेगरी छलफल चलेको छ। त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ।’

सापकोटा दम्पतीलाई घर-गाउँ छोडेर विदेशिन मन छैन।

‘जे गर्छु नेपालमै गर्छु, जति गर्छु नेपालीकै लागि गर्छु भन्ने लाग्छ,’ प्रमोदले भने, ‘आजभन्दा ६ वर्षअघि १५ लाख रुपैयाँ लगाएर उद्योग खोल्ने मेरो एउटा साहस नै थियो। त्यो बेला अमेरिका अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक-दुई करोड कमाइ त हुन्थ्यो होला। तर गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा महँगो लाग्यो। हामी यहीँ खुसी छौँ।’

कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग संचालन गर्नेतर्फ निरुत्साहित बनेका थिए। प्रमोदसँग पनि कोभिड-१९ का बेला उद्योग बन्द गर्नुपरेको तीतो स्मरण छ।

उनले भने, ‘महामारीमा उद्योग ठप्प भयो। भर्खर सुरु भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो। पुनः स्थिति सुधार भयो। अब त डर छैन।’

स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताए। अनुदानमा सहुलियत दिएर युवालाई स्वरोजगार बन्न प्रोत्साहित गरिरहेको उनको भनाइ छ।

उद्योगमा इको इँटा मात्र होइन, कङ्क्रिट इँटा, कबर ब्लक, गमला, तुलसीको मोठ, तारजाली पिल्लरसमेत उत्पादन हुने गरेको छ। रासस