लमजुङ। अलैँची बिक्री गरेर लमजुङका किसानले २२ करोड रुपैयाँ आम्दानी गरेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १ सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन्। यस वर्ष जिल्लामा प्रतिकिलो १ हजार ५ सयदेखि २ हजार ४ सय रुपैयाँसम्ममा अलैँची बिक्री भएको छ।
त्यसैगरी, गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका किसानले २ सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड रुपैयाँ आम्दानी गरेका थिए। मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो १ हजार २ सय रुपैयाँका दरले अलैँची बिक्री गरेका थिए। गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो।
त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा ३ सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो। उक्त वर्ष प्रति किलो अलैँची कम्तीमा ५ सय ५० देखि ७ सय रुपैयाँसम्म बिक्री भएको थियो।
आव २०७८/७९ मा ३ सय ३५ मेट्रिक टन अलैँची बिक्री गरी १५ करोड रुपैयाँ आम्दानी भएको थियो। आव २०७७/७८ मा ३ हजार ५ सय क्विन्टल अलैँची बिक्री गरी १८ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो।
आव २०७६/७७ मा जिल्लामा २ हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए। त्यसैगरी, आव २०७५/७६ मा ७ सय ५० क्विन्टल अलैँची बिक्री गरी किसानले ५ करोड २५ लाख आम्दानी गरेका थिए।
जिल्लामा सबैभन्दा बदी मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन्। मर्स्याङ्दी गाउँपालिका-५ सन्जापुका स्थानीयले मात्र यस वर्ष ६ हजार ७ सय केजी अलैँची बिक्री गरी १ करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताए। गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो।
भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरूको भनाइ छ।
जिल्लामा ७ सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३ सय ७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ। उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ।
सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ। जिल्लामा ७ सय मिटरदेखि १ हजार २ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, १ हजार २ सय मिटरदेखि १६ सय मिटर उचाइमा गोलशाही र १ हजार ६ सयदेखि २ हजार २ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन्। यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो। रासस