काठमाडौं। सार्वजनिक ऋण ६ महिनामा एक खर्बभन्दा बढी थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु वर्ष साउनदेखि मंसिरसम्म सार्वजनिक ऋण १०२ अर्ब रुपैयाँ थपिएको हो।
साँवा ब्याज तिर्न पौने २ खर्बभन्दा बढी रकम सरकारले खर्च गर्दा पनि ऋणको आकार १ खर्बभन्दा धेरै थपिएको हो।
चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा पुस मसान्तसम्म १०२ अर्ब ३ करोड बढेर ऋणको दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। जुन कूल गार्हस्थ्य उत्पादनको ४४.४६ प्रतिशत हो।
कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.३१ प्रतिशत अर्थात् १३ खर्ब १ अर्ब ४१ करोड ७३ लाख रुपैयाँ छ। जीडीपीमा बाह्य ऋणको हिस्सा २२.८१ प्रतिशत हो।
त्यस्तै, कूल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८.६८ अर्थात् १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ छ।
सरकारले चालु आर्थिक वर्ष ५ खर्ब ४७ खर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेकामा पुस मसान्तसम्म २ खर्ब ४० अर्ब ८ करोड प्राप्ति गरेको छ। यो वार्षिक लक्ष्यको तुलनामा ४३.८९ प्रतिशत हो।
सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालु आर्थिक वर्ष ४ खर्ब २ अर्ब ८५ करोड विनियोजन गरेकामा पुस मसान्तसम्म १ खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ।