BIZMANDU
www.bizmandu.com

साना कम्पनीलाई आइपीओबाट पुँजी जुटाउने बाटो खुल्यो, कम्तीमा ५०० कित्ताका लागि आवेदन

२०८१ माघ ३

साना कम्पनीलाई आइपीओबाट पुँजी जुटाउने बाटो खुल्यो, कम्तीमा ५०० कित्ताका लागि आवेदन
साना कम्पनीलाई आइपीओबाट पुँजी जुटाउने बाटो खुल्यो, कम्तीमा ५०० कित्ताका लागि आवेदन


काठमाडौं। साना तथा मझौला कम्पनी (एसएमई)ले सेयर निष्कासन गरी पुँजी जुटाउन पाउने बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली जारी गरेसँगै त्यस्ता कम्पनीलाई आइपीओ जारी गरेर पुँजी जुटाउने बाटो खुलेको हो।

Tata
GBIME
NLIC

पुस ९ गतेको मन्त्रिपरिषद्‍बाट स्वीकृत नियमावली सेबोनले बिहीबार जारी गरेको छ। सेबोनले नियमावली कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरेको छ।

नियमावली अनुसार एसएमईको सेयर कारोबार नेप्सेले गराउनेछ। नियमावली सेबोनले मस्यौदा गरेभन्दा केही फरक रुपमा आएको छ। सेबोनले सुरुमा एसएमई प्लेटफर्म अलग्गै संचालन गर्ने प्रस्ताव गरेकामा अहिले नेप्सेमा एउटा उपसमूह थपेर कारोबार गराउने गरी जारी गरिएको हो।

‘मस्यौदामाथि धेरै चरणमा छलफल हुँदा अलग्गै प्लेटफर्म संचालनको विषय हट्न पुगेको देखियो,’ स्रोतले भन्यो, ‘नियमावलीमा भएको व्यवस्था अनुसार एसएमईको सेयर कारोबारका लागि अब नेप्सेमा एउटा उपसमूह थप्नुपर्ने हुन्छ।’

सेयर कारोबार गराउन चाहने एसएमईका लागि अधिकतम चुक्ता पुँजी २५ करोड रुपैयाँ तोकिएको छ। बजार र कम्पनीको अवस्था हेरेर कम्पनीको चुक्ता पुँजीको सीमा हेरफेर गर्न सकिन्छ। यसका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। मस्यौदामा सेबोनबाट स्वीकृति लिनुपर्ने प्रस्ताव थियो।

कम्पनीहरूले जारी पुँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न सक्नेछन्। उनीहरूले रेटिङ नगरी आइपीओ निष्कासन गर्न सक्ने सहुलियत नियमावलीले दिएको छ। सेबोनले समस्या देखेमा कम्पनीलाई रेटिङ गर्न निर्देशन दिन सक्नेछ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम ५०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। सेबोनले यसअघि मस्यौदामा कम्तीमा २५० कित्ताका लागि आवेदन दिनुपर्ने प्रस्ताव गरेकामा अहिले त्यसको दोब्बर पारिएको हो।

सर्वसाधारणमा आइपीओ बिक्री गर्नुअघि ५ प्रतिशत मर्चेन्ट बैंकर र १५ प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। मर्चेन्ट बैंकर र संस्थागत लगानीकर्ताका लागि ३ वर्ष लकइन अवधि तोकिएको छ।

सेबोनले २०७९ चैतमा नियमावलीको मस्यौदा तयार पारेर स्वीकृतिका लागि मन्त्रालय पठाएकामा मन्त्रिपरिषद्ले गत पुसमा मात्रै स्वीकृत गरेको थियो। नियमावली जारी भएसँगै अब थोरै पुँजी भएका कम्पनीलाई व्यवसाय बढाउन प्रोत्साहन पुग्ने सेबोनको बुझाइ छ।

एसएमईले प्रिमियम मूल्यमा पनि आइपीओ जारी गर्न सक्नेछन्। त्यसका लागि पछिल्लो ३ वर्ष लगातार नाफामा गएको तथा चुक्ता पुँजीभन्दा प्रति सेयर नेटवर्थ बढी भएको हुनुपर्नेछ।

प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनीले प्रति सेयर नेटवर्थको २ गुणासम्म मूल्य तोक्न सकिने नियमावलीमा उल्लेख छ। नेप्सेमा अहिले २६८ कम्पनी सूचीकृत भएर कारोबारमा छन्।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सेबोनले आइपीओ निकाल्न अनुमति दिएपछि एसएमईजको सेयर कारोबार गराउने बताए।

‘एसएमईजको सेयर कारोबार गराउने जिम्मेवारी नेप्सेको हो,’ पराजुलीले भने, ‘यसबारे बोर्ड बसेर आवश्यक निर्णय लिन्छ।’