कागजी कारोबार घट्यो, विद्युतीय उपकरणबाट भुक्तानी कारोबार बढ्यो। पछिल्ला वर्षहरुमा देखिएका नवप्रवर्तनले परम्परागत बैंकिङका व्यावसायिक परिधिलाई विद्युतीय कारोबारहरुको ग्राहकमैत्री कार्यपद्धतिसहितको एक जटिल वैश्विक सञ्जालले जेलेको छ। विश्वव्यापीकरणले निम्त्याएको ‘ब्रम्हाण्ड एक गाउँ’को अवधारणा विद्युतीय कारोबारका उपकरण तथा सेवा प्रवाहसँगै निरन्तर साँघुरो बन्दै गइरहेको छ। विद्युतीय कारोबारको बढ्दो प्रयोगसँगै आपराधिक गतिविधिका स्वरुप पनि फेरिएका छन्। जति सुविधा आएका छन्, सतर्कता नअपनाउने हो भने जोखिम पनि बढेका छन्।
नवप्रवर्तनको बेगसँगै विस्तार भएका विद्युतीय भुक्तानी प्रणालीसँग सम्बन्धित सेवा तथा सुविधाहरुका प्रयोगगत एवं व्यवहारगत अलमलहरु नै मुख्यरुपमा अपराधिक क्रियाकलापहरुका प्रमुख कारक बनेका देखिन्छन्। साइबर अपराधका कारणले विश्वभरमा वार्षिकरूपमा थपेको वास्तविक तथा अनुमानित लागतलाई तलको ग्राफमा नियाल्दा यो वैश्विक अर्थव्यवस्थामा कतिको हाबी बन्दै गइरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ।
विभिन्न उपाय तथा बहानामा आवश्यक सूचनाहरु हत्याउने अनि विद्युतीय भुक्तानीका उपकरण वा संयन्त्रहरुको अनधिकृत प्रयोग गर्ने वा पहुँच विस्तार गर्दै खाताबाट पैसा चोरेका घटना देखिन्छन्।
बैंकिङमा देखा परेका साइबर अपराधका गतिविधिहरु केलाउँदा मुख्यरुपमा विद्युतीय भुक्तानीका माध्यमका बारेमा यथेष्ट मात्रामा वित्तीय साक्षरताको नरहेका व्यक्तिहरुलाई लक्षित गर्ने, अनि उनीहरुबाट विभिन्न उपाय तथा बहानामा आवश्यक सूचनाहरु हत्याउने अनि विद्युतीय भुक्तानीका उपकरण वा संयन्त्रहरुको अनधिकृत प्रयोग गर्ने वा पहुँच विस्तार गर्दै खाताबाट पैसा चोरेका घटना देखिन्छन्। यस किसिमको अपराधमा संलग्नहरु प्राय प्राविधिकरुपमा दक्ष र युवा उमेरका देखिन्छन्।
उनीहरुले बैंकखाताबाट रकम चोरी गर्नासाथ एकदमै छोटो समयमा अनेकन व्यक्तिहरुको बैंक खातामा स–साना इकाइ बनाएर रकमान्तर गर्ने गतिविधि देखिन्छ। त्यस्ता घटनामा वालेटहरुमा लोड गर्ने तथा मोबाइल टपअप गर्ने जस्ता विभिन्न उपयोगितामा आधारित भुक्तानीहरुमा चोरी गरेको पैसा प्रयोग गर्ने गरेको देखिन्छ।
पछिल्लो समयमा नेपाली बैंकिङमा पनि यस्तो साइबर अपराधका घटनाहरु बढिरहेको देखिन्छ। प्रहरी दर्पण २०८१ मा विगत ५ वर्षमा साइबर ब्युरोमा प्राप्त उजुरीको आँकडालाई तलको ग्राफमा नियाल्दा समेत अपराधको बढ्दो गतिलाई प्रष्ट्याउँछ।
साइबर अपराधमा संलग्नहरुले बैंकका ग्राहकको खाताबाट पैसा चोरी गर्दा अनेकन किसिमका प्रलोभनसहितका प्रपन्चहरु गर्ने गरेको देखिन्छ। जसमध्ये अधिक प्रचलनमा रहेका केही यसप्रकार छन्।
१. फिसिङ : आपराधिक क्रियाकलापहरुमा संलग्न ब्यक्ति तथा संस्थाहरुले बैंकका ग्राहकहरुलाई सम्बन्धित सेवा प्रदायक वा बैंकबाट नै इमेल, एसएमएस आदि पठाएझैँ गरि वित्तीय कारोबारसँग सम्बन्धित विभिन्न गोप्य सूचनाहरु माग गर्ने र प्राप्त भएपछि ग्राहकको पहिचान तथा पैसा चोरी गरी आपराधिक क्रियाकलापहरु गर्ने गर्दछन्। अधिकांश ठगीहरु यसप्रकारको प्रपन्चबाट हुने गरेको देखिन्छ।
२. भिसिङ : सेवा प्रदायकहरु तथा बैंकहरुबाट सम्पर्क गरेको भन्दै सेवाग्राहीहरुलाई फोन गरि वा आवाजको सन्देश पठाइ विभिन्न सेवासुविधा दिने वा ग्राहक पहिचान अद्यावधिक गर्ने वा यस्तै अन्य बहानामा विभिन्न गोप्य सूचनाहरु माग गर्ने र त्यसरी प्राप्त सूचनाहरु प्रयोग गरि नगद वा ग्राहकको पहिचान चोरी गरी वित्तीय अपराध गर्ने गर्दछन्।
३. टाढैबाट पहुँच (रिमोट एक्सेस) : सेवाग्राहीहरुलाई आफ्नो मोबाइल फोन तथा कम्प्युटरहरुमा विभिन्न एप्स, प्रोग्रामहरु डाउनलोड गर्न उत्प्रेरित गरि वा बाध्य बनाइ त्यसैमार्फत सेवाग्राहीहरुका क्रियाकलापहरु जासुसी गर्दै सूचनाहरु चोरी गर्ने तथा प्राप्त सूचनाहरुको प्रयोग गर्दै विभिन्न वित्तीय अपराधहरु गर्ने गर्दछन्।
४. अनधिकृत मोबाइल एप तथा प्रोग्राम प्रयोग : विभिन्न किसिमका आकर्षक विशेषताहरु पाइने आश्वासनमा अनेकन मोबाइल एपहरु प्रयोगकर्ताहरुको उपकरणमा डाउनलोड गर्न बाध्य पार्ने, अनि उक्त उपकरणहरुमा वा तिनबाट गरिने वित्तीय क्रियाकलापहरुको निगरानी गर्दै प्राप्त सूचनाहरुका आधारमा विभिन्न प्रकारका आपराधिक क्रियाकलापहरु गर्ने प्रवृत्तिहरु पनि बढ्दा छन्।
५. अनलाइन कारोबारमा आधारित धोकाधडी : वर्तमान समयमा अनलाइनमार्फत गर्न सकिने विभिन्न कारोबारहरुले एकातिर दैनिक जनजीवन अत्यन्तै सहज बनाएका छन् भने अर्कोतिर सँगसँगै आउने विभिन्न धोखाघडी तथा वित्तीय अपराधहरु पनि उत्तिकै मात्रैमा बढाएको छ। अनलाइन कारोबारमा प्रयोग हुने ओटीपी, कस्टमर भेरिफिकेसन भ्यालु, पासवर्ड, कार्ड नम्बर, मोबाइल नम्बर आदि जस्ता सूचनाहरु चोरी गर्ने तथा कारोबारमा छुट पाउने तरिका सिकाइदिने जस्ता विभिन्न प्रलोभनमा पारि विभिन्न किसिमका अनलाइन कारोबारमा धोखाघडी हुने गरेका देखिन्छन्।
६. एटीएम स्किमिङ : अपराधिक क्रियाकलापमा संलग्नहरुले बैंक तथा वित्तीय संस्थाहरुका एटीएम मेसिनहरुमा अन्य उपकरणहरु जडान गरि कार्ड प्रयोगकर्ताहरुका सूचनाहरु चोरी गरी बैंकखातामा रहेको रकम चोर्ने गरेको देखिन्छ।
७. सिमकार्ड स्वाप तथा क्लोनिङ : मोबाइल बैंकिङमार्फत बैंक खातामा रहेको रकम चोरी गर्ने हेतुले सम्बन्धित टेलिकम कार्यलयको प्रतिनिधि भएर वा विभिन्न प्रलोभनसहित कुनै लिंकमा क्लिक गर्न अनुरोध गर्ने, अनि मोबाइल प्रयोगकर्ताहरुले क्लिक गरिसकेपछि ग्राहकहरुको सूचना चोरी गरि सिमकार्डको नक्कली कपी तयारी गरि त्यसैबाट सम्बन्धित बैंकखातामा रहेको रकम चोरी गर्ने गरेका पनि थुप्रै उदाहरणहरु देखिन्छन्।
८. सामाजिक सञ्जालमा प्रतिरुपण : चिनजान वा नातेदारहरु जस्तै सामाजिक सञ्जालमा फोटाहरु राख्ने वा विभिन्न क्रियाकलापहरु गरी सूचना तथा नगद माग गर्ने जुक्ति अपनाइएको हुन्छ। यस्ता अपराधहरु प्रायः म्यासेन्जरबाट सूचनाहरु लेखी आदानप्रदान भइरहेका हुन्छन्।
९. चार्जरबाट सूचना चोरी : यो एक प्रकारको साइबर आक्रमण हो, जुन विशेषतः मोबाइल, ट्याब्लेटस् वा ल्यापटपहरु चार्जमा राख्दा चार्ज गर्ने पोर्टलाई उपकरणहरुको सूचनाहरु माथि निगरानी राख्ने अर्को कुनै एप राख्ने तथा संवेदनशील सूचना चोरी गर्ने प्रयोजनले विकास गरि गर्ने गरिन्छ। प्रायः सार्वजनिक स्थलहरुमा स्थापना गरिएका चार्जिङ स्टेसनहरुमा आफ्ना विद्युतीय उपकरणहरु चार्ज गर्दा यस्तो जोखिम अत्यधिक हुन सक्छ।
१०. धोखाघडीको नगद वहन : आपराधिक क्रियाकलापहरुबाट आर्जन गरेको रकम लाई अन्य कुनै व्यक्तिको खातामा राख्न लगाएर खातावालालाई विभिन्न प्रलोभन तथा डरधम्की देखाइ उक्त रकमलाई अपराधीहरु समक्ष पुर्याउन वा चलायमान गराउन अबलम्न गर्ने क्रियाकलापहरु विशेषतः धोखाघडी नगद वहनअन्तर्गत पर्ने गर्दछन्। यसलाई गैरकानुनी तवरले आर्जन गरेको धनलाई वैधानिकता दिनका लागि पनि प्रयोग गर्ने गरिएको देखिन्छ।
११. नगद भुक्तानीका झुठा आश्वासन : चिट्ठा परेको, सस्तोमा राम्रो सामान उपलब्ध गराउने, राम्रो देशमा वैदेशिक रोजगारीमा पठाइदिने लगायत अनेकौ बहानामा सेवाग्राहीहरुलाई सामाजिक सञ्जाल तथा सञ्चारका विभिन्न माध्यमबाट नगद जम्मा भएपछि काम भइहाल्ने आश्वासनसहितका सन्देशहरु पठाएर पनि वित्तीय अपराधहरु हुने गरेका छन्।
१२. नक्कली साइट र सामाजिक सञ्जालको जालो : भुक्तानीसँग सम्बन्धित सेवा प्रदायकहरुका नक्कली वेबसाइट तथा सामाजिक सञ्जालहरु तयार गरि सेवाग्राहीका गोप्य सूचनाहरु अद्यावधिक गर्ने बहानामा पनि ग्राहकको पहिचान तथा नगद चोरी भइरहेको हुन सक्छ।
मोबाइल तथा अन्य उपकरण एवं प्रोग्रामहरुका पासवर्डहरू बेलाबेलामा परिवर्तन गरि गोप्य तरिकाले सुरक्षित राख्दा यस्ता सूचनाहरु वित्तीय अपराधमा संलग्न व्यक्तिहरुको पहुँचमा पुग्ने सम्भावना कम हुन्छ।
साइबर अपराधहरुबाट बच्न डिजिटल भुक्तानीका उपकरण एवं संयन्त्रमा आबद्ध प्रयोगकर्ताहरुले कम्तीमा पनि निम्नलिखित पूर्वसतर्कताहरु अनिवार्यरुपमा अवलम्बन गर्न सक्दा अप्रत्याशित वित्तीय अपराध तथा धोखाधडीको सिकार बन्नबाट केही हदसम्म सुरक्षित रहन सकिन्छ।
समय सापेक्ष विकास एवं विस्तारको तीव्र गतिमा अगाडि बढिरहेको नेपालको डिजिटल बैंकिङ व्यावसायलाई थप प्रभावकारी बनाउन संलग्न सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आन्तरिक प्राविधिक सबलतालाई पुनरावलोकन एवं अद्यावधिक गर्नुपर्छ।
साथमा विद्यमान नियामकीय व्यवस्थाहरुको विवेकशील अनुपालनको सुनिश्चिता गर्दै वित्तीय साक्षरता प्रवर्धनमा सक्रियरुपमा परिचालित हुनुपर्ने देखिन्छ भने प्रयोगकर्ताहरुले पनि डिजिटल बैंकिङ कारोबारहरु गर्नुपूर्व अत्यन्तै चनाखो हुनुपर्ने आवश्यकता छ। अन्यथा वर्तमान समयमा देखिएका आशलाग्दा प्रयोगकर्ता एवं कारोबारगत प्रवृत्तिहरुसँगै आपराधिक क्रियाकलापहरु बढ्न सक्छ। यस्तो हुँदा सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुका सेवामा सर्वसाधारणको विश्वास घटेर समग्र डिजिटल बैंकिङ सेवाको विकासमा अवरोध सृजना हुन सक्छ।
शंकास्पद कारोबारको अनुगमन गर्न तथा संकेत पाउनासाथ तुरुन्तै निगरानी तथा कार्बाही गर्ने अधिकारसहितको प्रहरी, बैंक तथा भुक्तानी सेवा प्रदायकहरुको त्रिपक्षीय संयन्त्र विकास गर्न सके बैंकिङमा बढ्दो साइबर अपराधको गतिलाई निस्तेज गर्न मद्दत मिल्ने देखिन्छ। (उल्लिखित विचारहरु लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)