BIZMANDU
www.bizmandu.com

रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतबाट पनि धरौटीमा रिहा गर्न आदेश

२०८१ माघ २

रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतबाट पनि धरौटीमा रिहा गर्न आदेश
रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतबाट पनि धरौटीमा रिहा गर्न आदेश


काठमाडौं। पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पनि धरौटीमा  रिहा गर्न आदेश दिएको छ।

Tata
GBIME
NLIC

न्यायाधीश माधव अधिकारीको इजलासले ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बुधबार आदेश दिएको हो।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनालाई लिएर पुस २१ गते रविसहित ३९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो।

रवि २८ गते अदालतमा उपस्थित भएका थिए।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई जिल्ला अदालत कास्कीले पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

त्यसपछि उनी आफैं काठमाडौं जिल्ला अदालमा उपस्थित भएका थिए। २८ गते अदालतले बयान लिएर रविलाई न्यायिक हिरासतमा पठाएको थियो।

पुस २९ गते सरकारी वकिलले थुनछेक बहस गरेकामा बुधबार रविका तर्फबाट पूर्वमहान्याधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए। सरकारी वकलिले जवाफ बहस गरेपछि अदालतले रविलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यो मुद्दामा दुई जनायसअघि नै धरौटीमा रिहा भइसकेका छन्।

स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाको आरोपबारे प्रहरीले रविलाई मंसिर १३ गते काठमाडौं ल्याएर बयान लिएको थियो।