BIZMANDU
www.bizmandu.com

ब्याजदर ओरालो लागेपछि इन्स्योरेन्सले मुद्दती निक्षेपमा पैसा राख्न छोडे, कहाँ गरिरहेका छन् लगानी?

२०८१ माघ २

ब्याजदर ओरालो लागेपछि इन्स्योरेन्सले मुद्दती निक्षेपमा पैसा राख्न छोडे, कहाँ गरिरहेका छन् लगानी?
ब्याजदर ओरालो लागेपछि इन्स्योरेन्सले मुद्दती निक्षेपमा पैसा राख्न छोडे, कहाँ गरिरहेका छन् लगानी?


काठमाडौं। बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी खुम्चिन थालेको छ। चालु आर्थिक वर्ष पाँच महिनामा बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा २२ अर्ब ३२ करोड १० लाख रुपैयाँ लगानी गरेका छन्।

Tata
GBIME
NLIC

यो रकम पोहोर पाँच महिनाको तुलनामा आधाभन्दा कम हो। गत वर्ष साउनदेखि मंसिरसम्म बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा ४५ अर्ब ८ करोड ५७ लाख रुपैयाँ लगानी गरेका थिए।

बीमा कम्पनीहरुले अहिलेसम्म कुल ७ खर्ब ४९ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन्। त्यसमध्ये ८३.२५ प्रतिशत प्रतिशत अर्थात ६ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ मुद्दती निक्षेपमा मात्र लगानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि क्षेत्रसहित लगानीको सीमा तोकेको छ। चालु वर्ष साउनदेखि नै मुद्दती निक्षेपमा बीमा कम्पनीहरुले लगानी घटाएका छन्।

उनीहरुले साउन महिनामा मुद्दती निक्षेपमा ७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ लगानी गरेकामा त्यसयता निरन्तर घटेको देखिन्छ। भदौमा ७ अर्ब ४८ करोड, असोजमा ६ अर्ब ४९ करोड, कात्तिकमा ७० करोड र मंसिरमा १४ करोड रुपैयाँ मुद्दतीमा लगानी गरेको तथ्यांक छ।

पछिल्लो समय बीमा पोलिसी छोड्ने (सरेन्डर) गर्नेको संख्या बढेको कारण पनि मुद्दती निक्षेपमा लगानी निरन्तर घटिरहेको एक बीमा कम्पनीका सीइओले बताए।

‘बीमा पोलिसी सरेन्डरको संख्या बढिरहेको छ। नयाँ पोलिसी धेरै बिक्री हुन सकिरहेको छैन। पुरानो पोलिसी छोड्ने क्रम बढेर उनीहरुलाइ पैसा फर्काउनु परिरहेको छ,’ ती सीइओले बिजमाण्डूसँग भने, ‘त्यही कारण मुद्दती निक्षेपमा लगानी घटेको हो।’

अघिल्ला वर्षहरुमा पनि बीमा पोलिसी त्याग्ने क्रम रहेकामा अहिले उच्च रहेको बीमकहरुको भनाइ छ। आर्थिक वर्ष २०८०/८१ मा १ लाख ९ हजार ४६० बिमितले बिमालेख छोडेर कम्पनीबाट १३ अर्ब २९ करोड रुपैयाँ फिर्ता लिएका छन्।

यस्तै आर्थिक वर्ष २०७९/८० मा ९६ हजार ९३८ बिमितले बिमालेख त्यागेर १३ अर्ब ३४ करोड, २०७८/७९ मा ८१ हजार ८६० बिमितले बिमालेख बीचमै छाडेर १२ अर्ब १८ करोड रुपैयाँ फिर्ता लिएको तथ्यांक छ।

यो आर्थिक वर्ष पोलिसी सरेन्डर उल्लेख्य बढेको बिमकहरुको भनाइ छ।

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी बीमा कम्पनीहरुले बैंकहरुको ब्याजदर निरन्तर घटेकाले मुद्दती निक्षेपको साटो अन्य क्षेत्रमा लगानी बढाउन थालेको बताउँछन्।

‘कम्पनीहरुलाई लगानीको क्षेत्रसहित सीमा तोकिएपनि त्यसअनुसार लगानी विविधिकरण हुन सकेको छैन। पछिल्लो समय बैंकहरुले ब्याजदर निक्कै तल झारेकाले कम्पनीहरुले मुद्दती निक्षेप छोडेर ऊर्जा, पर्यटन, पूर्वाधार र कृषि क्षेत्रमा लगानी बढाउन थालेको छन्,’ उनले भने, ‘बैंकहरुको मुद्दतीमा ब्याजदर कम भएकाले अन्य क्षेत्रमा लगानी बढ्न थालेको छ जुन अर्थतन्त्रका लागि नै सकारात्मक हो।’

केही कम्पनीले सेयर, ऊर्जा, पर्यटन, पूर्वाधार र कृषिमा लगानी बढाएका छन्। तर प्राधिकरणले तोकेको सीमा अनुसार हुन सकेको छैन।

चालु आर्थिक वर्ष पहिलो तीन महिनामा जीवन बीमा कम्पनीले कृषि तथा पूर्वाधार क्षेत्रमा ४ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन्। गत असार मसान्तसम्म कम्पनीहरुको यस क्षेत्रमा ५ अर्ब ५८ लाख रुपैयाँ लगानी गरेकामा असोज मसान्तमा आइपुग्दा १० अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

कृषि तथा पूर्वाधार क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुको लगानी भने खुम्चिएको छ। उनीहरुले गत असारसम्म कृषि तथा पूर्वाधार क्षेत्रमा १ अर्ब लगानी गरेकामा असोज मसान्तमा आइपुग्दा ९९ करोड १६ लाख रुपैयाँमा झरेको छ। निर्जीवन बीमा कम्पनीले सेयर बजारमा भने लगानी बढाएका छन्। उनीहरुले तीन महिनामा सेयर बजारमा २ अर्ब लगानी बढाएका हुन्।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री प्राधिकरणको लगानी निर्देशिका कार्यान्वयन गर्ने सक्ने अवस्था नरहेको बताउँछन्।

‘आर्थिक गतिविधि सुस्त छ। बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा जान नसकेको सुन्छौं। यस्तो अवस्थामा बीमा कम्पनीहरुले लगानी गर्न सहज हुने भएन,’ उनले भने।