BIZMANDU
www.bizmandu.com

स्मार्टफोनको ग्लोबल सेलमा दुई वर्षपछि हरियाली, सामसङ शीर्ष स्थानमै, नेपालको आँकडा कस्तो?

२०८१ माघ २

स्मार्टफोनको ग्लोबल सेलमा दुई वर्षपछि हरियाली, सामसङ शीर्ष स्थानमै, नेपालको आँकडा कस्तो?
स्मार्टफोनको ग्लोबल सेलमा दुई वर्षपछि हरियाली, सामसङ शीर्ष स्थानमै, नेपालको आँकडा कस्तो?


काठमाडौं। सन् २०२४ मा विश्वभर स्मार्टफोनको आपूर्ति ४ प्रतिशतले बढेको छ। जसमा दक्षिण कोरियाली टेक जायन्ट सामसङले सबैभन्दा बढी बजार हिस्सा हात पारेको छ। त्यसपछि बढी हिस्सा एप्पल र साओमीको छ।

Tata
GBIME
NLIC

दुई वर्ष निरन्तर घटेको स्मार्टफोनको आपूर्ति सन् २०२४ मा उकालो लागेको हो। विश्व अर्थतन्त्रमा सुधार हुँदै गएको सन्देशले उपभोक्ताको आत्मविश्वास र सेन्टिमेन्ट बढ्दा त्यसको प्रभाव स्मार्टफोन व्यापारमा परेको हो।

सन् २०२३ मा स्मार्टफोनको बिक्री दशककै सबैभन्दा कम विन्दुमा झरेको थियो। सन् २०२३ को चौथो त्रैमासबाटै स्मार्टफोनको बजारमा सुधारका संकेत देखिएको थियो। त्यसपछि लगातार पाँच त्रैमासमा स्मार्टफोन बिक्री बढ्दै गएको छ। जसअनुसार विश्वका सबै बजारमा स्मार्टफोन बिक्रीमा वृद्धि भएको छ। जसलाई युरोप, चीन र ल्याटिन अमेरिकी देशले डोर्‍याइरहेको काउन्टरपोइन्ट रिसर्चका निर्देशक तरुण पाठकले जानकारी दिए।

स्मार्टफोनको बिक्रीमा देखिएको सुधार अनुसार सामसङले विश्व बजारमा १९ प्रतिशत हिस्सा ओगटेको छ। फ्ल्यागसीप स्मार्टफोन ग्यालेक्सी एस२४ सिरिज र ए सिरिजको ‘स्ट्रङ डिमान्ड’का कारण सामसङले १९ प्रतिशतसम्म बजार हिस्सा हात पार्न सफल भएको अध्ययनको निष्कर्ष छ।

एस२४ सिरिजका स्मार्टफोन सामसङको पहिलो एआई स्मार्टफोनको रुपमा कम्पनीले आक्रामक मार्केटिङ गरिरहेको छ। जसले सामसङका पुराना सिरिजका स्मार्टफोनको बिक्रीलाई समेत उछिनेर एस२४ सिरिजलाई पश्चिमी युरोप र अमेरिकामा थप बलियो बनाएको देखिन्छ।

यस्तै, एप्पल भने १८ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा छ। आइफोन १६ सिरिजले भने बजारबाट मिश्रित प्रतिक्रिया पाएको छ। यो सिरिज लञ्च गर्ने समयमा ‘एप्पल इन्टेलिजेन्स’ नभएकाले आइफोन १६ सिरिजको बिक्रीमा केही असर पुगेको अनुमान गरिएको छ। तैपनि एप्पलले आफ्नो ‘नन-कोर’ बजारहरू ल्याटिन अमेरिका, अफ्रिका र एसिया प्रशान्तसहितका क्षेत्रमा आइफोनको बिक्री बढाउन सफल भएको छ।

चिनियाँ बजारमा आइफोन प्रो र प्रो म्याक्स मोडलहरूको बिक्री भने उच्च रहेको प्रतिवेदनमा उल्लेख छ।

चीनको एप्पल स्टोर

१४ प्रतिशत बजार हिस्सा रहेको चिनियाँ ब्राण्ड साओमी सन् २०२४ मा शीर्ष ५ स्मार्टफोन ब्राण्डहरूमध्ये सबैभन्दा बढी बिक्री गर्ने ब्राण्ड बनेको छ। सामसङ र एप्पलसँगै साओमीले भिभो र ओप्पोभन्दा बढी बिक्री हुने ब्राण्ड बनेको हो। भिभो र ‌ओप्पोको बजार हिस्सा समान ८/८ प्रतिशत छ।

शीर्ष ५ ब्राण्डमा रहेका कम्पनीहरूको श्रेणी अघिल्लो वर्ष २०२३ को भन्दा फेरिएको छैन। श्रेणीमा कुनै फेरबदल नभए पनि यी सबै ब्राण्डहरूले हुवावे, अनर र मोटोरोलासँगको आक्रामक प्रतिस्पर्धामा केही बजार हिस्सा गुमाउन पुगेका छन्।

सन् २०२४ मा प्रिमियम स्मार्टफोनहरूमा जेनएआई भित्रिन सफल भएको प्रतिवेदनमा उल्लेख छ। सन् २०२८ सम्ममा १० मध्ये ९ स्मार्टफोन जसको मूल्य २५० अमेरिकी डलर (साढे ३४ हजार रुपैयाँ) भन्दा बढी हुने छ त्यसमा जेनएआई क्यापेबल हुने प्रक्षेपण गरिएको छ।

स्मार्टफोन बजारमा वृद्धि देखिए पनि कोरोना महामारीभन्दा अघिको जस्तो उच्चस्तरमा बिक्री दर नपुग्ने प्रतिवेदनमा उल्लेख छ। सन् २०२५ मा पनि स्मार्टफोन बिक्रीको दर बढ्ने अनुमान गरिएको छ। यसका साथै कम्पनीहरूले स्मार्टफोन बिक्रीबाट गर्ने आम्दानीसमेत ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

तस्विर : काउन्टरपोइन्ट रिसर्च

नेपालको हकमा समेत स्मार्टफोनको बिक्री बढेको देखिन्छ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष २०८०/८१ को पहिलो ५ महिनाको तुलनामा चालु वर्ष २०८१/८२ को सोही अवधिमा साढे १ अर्बभन्दा बढीको  स्मार्टफोन आयात भएको छ।

चालु वर्षको ५ महिनामा १५ अर्ब १८ करोड रुपैयाँ बराबरको ९ लाख ९० हजार थान स्मार्टफोन आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा १३ अर्ब ५९ करोड रुपैयाँबराबरको ९ लाख थान मात्रै स्मार्टफोन भित्रिएको तथ्यांक छ।

नेपालमा एप्पल र सामसङसँगै चिनियाँ ब्रान्ड साओमीको बजारमा राम्रो उपस्थिति छ।