काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरु सहितको आर्थिक वर्ष २०८०/८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ।
संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सेयरधनीहरुलाई बैंकको दरबारमार्गस्थित आफ्नै जग्गामा भवन निर्माण गरि उक्त शाखालाई स्थानान्तरण गरि सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा संचालनमा ल्याईसकेको जानकारी गराएका थिए।
यद्यपि, आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले संचयकोषको उक्त भवनको प्रवलिकरण पश्चात् ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि उनले जानकारी दिएका थिए।
यसका साथै बैंकले नयाँसडकमा पनि आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको उनले बताएका थिए।
सभामा श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ रहेको जानकारी दिएका थिए। ‘अडर कम्प्रिहेनशिप इन्कम’ सहित बैंकको खुद आम्दानी १ अर्ब २ करोड ३९ लाख १ हजार रुपैयाँ रहेको उनले बताएका थिए। जस मध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार छुट्याइएको उनले जानकारी दिएका थिए।
यसै गरि बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई दुई खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको पनि उनले जानकारी गराएका थिए।
यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको जनाएको छ।
अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आर्थिक वर्षको नाफामा सहयोग पुग्ने विश्वास बैंकको छ।
बैंकले स्थापनाकालदेखि नै नियमितरुपमा आफना सेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांशको रुपमा आर्कषक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष तथा यस वर्ष त्यसलाई निरन्तरता दिन नसकेकोमा श्रेष्ठले दुःख व्यक्त गरेका थिए। साथै, कर्जा नोक्सानी व्यवस्था लगायत अन्य शिर्षकमा रकमान्तर भएको रकम फिर्ता गरि आगामी दिनमा पहिले जस्तै आकर्षक लाभांश दिने कुरामा उनले जोड दिएका थिए।