काठमाडौं। फ्लाई दुबईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान गर्ने भएको छ। यो वायुसेवा कम्पनीले एक महिनापछि भैरहवामा उडान गर्न लागेको हो।
कम्पनीको जहाज सोमबार अपराह्न २ बजे भैरहवा विमानस्थलमा अवतरण गर्ने तालिका छ। कम्पनीको जहाजमा दुबईबाट १७४ यात्रु आएका छन्। तीमध्ये ६३ यात्रु भैरहवामा झर्ने कम्पनीका एक कर्मचारीले जानकारी दिए। बाँकि ८० यात्रु भने काठमाडौं आउनेछन्।
जहाजको बिजनेस क्लासमा ११ यात्रु छन्। तीमध्ये ६ जना भैरहमा ओर्लनेछन्।
‘मौसममा सुधार आएसँगै हामीले पुनः दुबई-भैरहवा-काठमाडौंतर्फको हप एण्ड हप उडान सुरु गरेका हौं। योपटक भैरहवा आउने यात्रु संख्या राम्रो देखिएको छ,’ कम्पनीका कर्मचारीले भने, ‘यात्रु पाएको अवस्थामा भैरहवा-दुबई सिधा उडान गर्ने योजना छ।’
फ्लाइ दुबईको जीएसए युनिभर्सल टुर एण्ड ट्राभल हो। फ्लाइ दुबईले दुबई-भैरहवा-काठमाडौं रुटमा दैनिक गर्ने तालिका पाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कुवेतको जजिरा एयरवेजले भैरहवामा माघ १८ गतेदेखि पुनः उडान गर्ने जनाएको छ। कम्पनीले सातामा ३ दिन उडान गर्नेछ।
गौतमबुद्ध विमानस्थलमा थाइ एयर एसियाले हाल यात्रुको माग अनुसार उडान गर्दै आएको छ।