काठमाडौं। साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पद खाली छ। रिक्त पद खुला प्रतिष्पर्धाबाट पूर्ति गर्न साझा यातायात सहकारीले सोमबार दरखास्त आह्वान गरेको छ।
दरखास्त दिन चाहनेका लागि योग्यता तथा अनुभवमा व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने, कुनै सरकारी सेवा वा संस्था वा अन्तर्राष्ट्रिय संघसंस्थाको अधिकृत स्तरमा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा दसौं तह वा सो सरहको पदमा सात वर्ष काम गरी कार्य अनुभव हासिल गरेको हुनुपर्ने तोकिएको छ।
यस्तै दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा गरेर ६३ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड छ। दरखास्त साथ साझा यातायातको वेबसाइट मा प्रकाशित प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति सम्बन्धी कार्यविधि, २०६१ को दफा ६ बमोजिमको कागजात तथा विवरण र सोही दफाको उपदफा (२) अनुसारको स्वघोषणाको व्यहोरा निवेदक स्वयंले प्रमाणित गरी पेस गर्नुपर्ने सूचनामा छ।
दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरणसँगै व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेस गर्नुपर्ने जनाइएको छ। २१ दिनको समयावधिमा पेस हुने दरखास्तमा साझाले छनोट सूची बनाउने छ। त्यसमा परेकालाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि मिति तोकेर बोलाइने सूचनामा छ।