BIZMANDU
www.bizmandu.com

नेपाल-भारत संयुक्त व्यापार मञ्च बैठक, द्विपक्षीय व्यापार विस्तारमा जोड, उठ्यो बिआइएसको मुद्दा

२०८१ पुष २८

नेपाल-भारत संयुक्त व्यापार मञ्च बैठक, द्विपक्षीय व्यापार विस्तारमा जोड, उठ्यो बिआइएसको मुद्दा
नेपाल-भारत संयुक्त व्यापार मञ्च बैठक, द्विपक्षीय व्यापार विस्तारमा जोड, उठ्यो बिआइएसको मुद्दा


काठमाडौं । नेपाल-भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले शनिबार भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए।

Tata
GBIME
NLIC

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको बैठकमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताएका थिए। उनले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्या समाधान सहज ढंगले हुने गरि काम गर्नुपर्ने उल्लेख गरेका थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताएका थिए।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उहाँले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्रस (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका सहर जोड्ने र नेपालका  जलविद्युत् तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थ सहज आपूर्ति आवश्यक भएको बताएका थिए।

ढकालले मुन्द्रा (गुजरात), धामरा (उडीसा) र जवाहरलाल नेहरू बन्दरगाह (मुम्बई) लगायतका भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तारको विषय उठान पनि उठान गरेका थिए।

नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठककै अंगकै रूपमा रहेको जेबीएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासलगायत विषयमा छलफल गरेका थिए।

संयुक्त बैठकमा जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिमा अनुसन्धान र व्यावसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायत विषयमा आवश्यक सहजीकरण गर्ने सहमति भएको छ।

बैठकमा भएका सहमतिका विषयलाई शनिबार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ। भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमति हस्तान्तरण गरेका थिए। भारतका वाणिज्य सचिव बर्थवालले जेबीएफमा उठेका एजेण्डा कार्यान्यवनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्दाका लागि बैठक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उठेका विषयमा सहजीकरणका लागि आफ्नो तर्फबाट पहल गर्ने बताएका थिए। सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल–भारतबीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको तथा त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताएकी थिइन्।

यस्तै, भारतीय पक्षबाट एन सुनिल कुमारले नेपाल–भारतबीच  सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकाले आउने दिनमा थप सहजता थपिने बताएका थिए।

मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गर्ने सहमति भएको छ। रासस