BIZMANDU
www.bizmandu.com

उद्योग-व्यवसायमा मानव अधिकारसम्बन्धी नीति नियमको पालनामा कडाइ गरिनुपर्नेमा जोड

२०८१ पुष २६

उद्योग-व्यवसायमा मानव अधिकारसम्बन्धी नीति नियमको पालनामा कडाइ गरिनुपर्नेमा जोड
उद्योग-व्यवसायमा मानव अधिकारसम्बन्धी नीति नियमको पालनामा कडाइ गरिनुपर्नेमा जोड

विराटनगर। उद्योग-व्यवसायमा मानव अधिकारको संरक्षण गर्न त्यससम्बन्धी नीति नियमको पालनामा कडाइ गर्नुपर्ने सरोकारवालाले बताएका छन्।

Tata
GBIME

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको ‘व्यवसाय र मानव अधिकार’ विषयको कार्यशालामा सरोकारवालाले निजी क्षेत्रले आफूलाई नाफा कमाउने वर्गका रूपमा मात्र नहेरी मानव अधिकारको पालनाप्रति बफादार रहनुपर्ने धारणा व्यक्त गरेका हुन्।

कार्यशालामा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल सरकारले पारित गरेको व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको मस्यौदालाई पूर्णता दिएर उद्योग-व्यवसायमा मानव अधिकारको पूर्णतः प्रत्याभूति गर्नुपर्ने कुरामा जोड दिए।

अध्यक्ष राउतले नेपालमा पनि व्यावसायिक गतिविधिबाट मानिसमा उत्पन्न हुने सामाजिक, वातावरणीय र अन्य प्रकारका प्रभावलाई हटाउनु पर्ने अवस्था रहेको चर्चा गरे। राउतले उद्योग-व्यवसायले श्रमिकको अधिकार, महिला तथा बालबालिकाहरूको अधिकार, बालश्रम रोकथाम, वातावरण संरक्षण र सामाजिक न्याय प्रवर्धनमा सहयोग पुर्‍याउन प्रतिबद्ध हुनुपर्ने बताए।

अधिवक्ता एवं प्राध्यापक पुष्पा पोखरेलले उद्योग-व्यवसायमा मानव अधिकारको संरक्षण र सम्मानतर्फ विश्वव्यापी रूपमा घटनाहरू विकसित हुँदै गएको जानकारी दिँदै नेपालमा पनि त्यसको परिपालना आवश्यक बन्दै गएको उल्लेख गरिन्।

अधिवक्ता पोखरेलले कार्यस्थलमा हुने अधिकार हननका घटनामा निजी क्षेत्रले गुनासो सुनुवाइ व्यवस्थापन एकाइको स्थापना गर्नुपर्ने दायित्व पूरा गर्न आग्रह गरिन्। पोखरेलले उत्पादन-प्रक्रिया र आपूर्ति श्रृंखलामा जोडिएका क्षेत्रले समेत मानव अधिकारको पालनामा ध्यान दिनुपर्ने बताइन्।

महासंघकी उपनिर्देशक सीता घिमिरेले व्यवसायभित्र अधिकारको संरक्षण, श्रमिक कामदारको सम्मान र अधिकार हननका घटनामा उपचार पाउने अवस्थाको सिर्जना अनिवार्य रहेको विचार प्रकट गरिन्।

महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (साम) का अनुसार कार्यक्रममा मोरङ-सुनसरी औद्योगिक क्षेत्रका उद्योग-व्यवसायका मानव-संसाधन विभागका प्रमुख, कर्मचारी र उद्योग प्रतिष्ठानका संचालकसमेत गरी ३५ सहभागी थिए।