BIZMANDU
www.bizmandu.com

सहकारी ठगीमा रविसहितका प्रतिवादीका तर्फबाट सकियो बहस, बिहीबारसम्म आदेश आउने

२०८१ पुष २४

सहकारी ठगीमा रविसहितका प्रतिवादीका तर्फबाट सकियो बहस, बिहीबारसम्म आदेश आउने
सहकारी ठगीमा रविसहितका प्रतिवादीका तर्फबाट सकियो बहस, बिहीबारसम्म आदेश आउने


काठमाडौं। सूर्यदशन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएको छ। प्रतिवादीका तर्फका कानुन व्यवसायीले बुधबार अपराह्न बहस सकाएका हुन्।

Tata
GBIME
NLIC

लगत्तै जाहेरीकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ। जिल्ला अदालत कास्कीमा न्यायाधीश निजित कुमार राईको इजलासमा बहस भइरहेको हो। बिहीबारसम्म आदेश आउने अदालत प्रशासनले जनाएको छ।

‘प्रतिवादीका तर्फबाट बहस सकियो। आज नै जाहेरीकर्ताका तर्फबाट जवाफी बहस भइरहेको छ। सम्भवतः बिहीबारसम्म आदेश आउनेछ,’ अदालतका श्रेस्तेदार राजन खनालले भने।

रविसहित ४४ जनालाई प्रतिवादी बनाएर पुस ७ गते सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकामा १६ गते थुनछेक बहस सुरु भएको थियो।

१ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको मुद्दामा हाल ७ जनालाई मात्र अदालतमा उपस्थित गराइएको छ। बाँकी प्रतिवादीमध्ये केही फरार छन् भने केही एक वर्षभन्दा बढी समयदेखि पुर्पक्षका लागि थुनामा छन्।

अदालतले रविलाई धरौटीमा रिहा गर्न आदेश दिन्छ वा पुर्पक्षका लागि थुनामा पठाँछ भन्नेमा सर्वत्र चासो छ।

रविविरुद्ध जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दायर भएकामा उनीसँगै प्रतिवादी बनाइएका दुई जना धरौटीमा रिहा भइसकेका छन्।