काठमाडौं। इलेक्ट्रिक चुरोट (भेप) भित्रको सुन तस्करी प्रकरणका प्रतिवादीलाई सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धीकरण विभागको सिफारीसमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।
तत्कालिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार नासु रेवन्त खड्कासहित ११ जनालाई मुद्दा चलाइएको हो। जसमा २ जनालाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
मुद्दा चलाइएकाहरूमा रेवन्त खड्का, दिनेश बस्नेत, अमृत कार्की, राम केवश थापा, ललिता थापा, वेदप्रसाद अग्रवाल, साहेव राव मगर, राहुल महरा र दावा छिरिङ रहेका छन्। प्रेरणा थापा र रोजन राउतलाई भने सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको हो। राहुल महरा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन्।
२०७९ पुस १० गते फ्लाइ दुबइबाट चिनियाँ नागरिकले ७३० वटा भेप (इलेक्ट्रिक चुरोट)मा ९ किलो सुन भित्र्याएका थिए। त्यो सुन भन्सारको कोठाबाट चोरी गरी बिक्री गरिएको थियो।
उक्त प्रकरणमा पूर्वसभामुख महरादेखि उनका छोरासम्मको कनेक्सन देखिएको छ। नासु रेवन्तको हकमा ९ किलो सुनको मूल्य बराबर ८ करोड ५५ लाख २८ हजार बिगो कायम गरिएको छ। उनले सरकारी सेवामा प्रवेश गरेदेखि कसुर गरेको समयसम्म तलव, भत्ता, पोसाक, पुरस्कारमार्फत ८ लाख ६४ हजार ३६६ रुपैयाँ प्राप्त गरेको देखिन्छ।
रेवन्तको नाममा रहेको बैंक खाताहरूमा डेबिटतर्फ १ करोड ६ लाख २६ हजार ३४१ रुपैयाँ ५८ पैसा र क्रेडिटतर्फ १ करोड ६ लाख ४२ हजार ७५९ रुपैयाँ ३८ पैसा देखिएको छ। विभिन्न कम्पनीका सेयर २५९० कित्ताहरू मौज्दात रहेको देखिन्छ। उनले विभिन्न कम्पनीका ८ हजार ९३० कित्ता सेयर ६५ लाख ४९ हजार ७९४ रुपैयाँमा खरिद गरेको देखिएको छ।
अदालतमा दायर अभियोजन पत्रमा रेवन्तले सुनबाट प्राप्त रकम जग्गा, सेयर खरिद र विभिन्न कम्पनीमा लगानी गरेको देखिएको छ।
राहुल महराको हकमा भने भन्सारमा आएको सुन छुटाउनका लागि दबाब दिएको भन्दै मुख्य कसुरदारलाई हुने सजायको आधा माग गरिएको छ।
सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबुछोराको सम्पर्क देखिए पनि उनीहरूलाई अनुसन्धानको दायरामै नल्याइएपछि सीआइबी र सरकारको आलोचना हुँदै आएको थियो।
यो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षा गार्ड निर्मल विक, सुन व्यापारी वेदप्रसाद अग्रवाल र साहेव राव २०८० साउन २ गतेदेखि पुर्पक्षका लागि कारागारमा छन्।
रेवन्तलाई जिल्ला अदालत काठमाडौंले २ बर्ष ६ महिना कैद, दिनेश बस्नेतलाई १ बर्ष ६ महिना, निर्मल कुमार विकलाई ६ महिना, राहुल महरा र दावा छिरिङलाई १ बर्ष २ महिना कैद सजाय सुनाएको थियो।