BIZMANDU
www.bizmandu.com

भारतबाट तस्करी घटेपछि वैध सुनमा जोडबल, व्यवसायी भन्छन्- २० केजीले धान्दैन, कोटा बढाउनु पर्छ

२०८१ पुष १९

भारतबाट तस्करी घटेपछि वैध सुनमा जोडबल, व्यवसायी भन्छन्- २० केजीले धान्दैन, कोटा बढाउनु पर्छ
भारतबाट तस्करी घटेपछि वैध सुनमा जोडबल, व्यवसायी भन्छन्- २० केजीले धान्दैन, कोटा बढाउनु पर्छ


काठमाडौं। सरकारले सुनको भन्सार घटाएपछि भारतबाट हुने तस्करी घट्दा बजारमा वैधानिक बाटोबाट आएकै सुनको कारोबार बढ्ने देखिएको छ। तस्करीबाट भित्रिन घटेसँगै सुनचाँदी व्यवसायीले बैंकले आयात गरेको सुन खरिद गर्न थालेका छन्। बैंकले ल्याउने सुनले नपुग्ने आकलन भइरहँदा व्यवसायीले कोटा बढाउन जोडबल थालेका छन्।

Tata
GBIME

त्यसो त यतिबेला पुस महिना भएकाले बजारमा सुनको माग कम छ। उपभोक्ताले सुन खरिद नगरे पनि व्यवसायीले माघ र फागुन महिनाका लागि कच्चा सुन खरिद गरी स्टक गरिरहेका छन्। साथै गहना बनाएर राख्दैछन्। गत मंसिरमा विवाहको लगन कम भएकाले सुनको कारोबार ठूलो परिमाणमा हुन पाएन। त्यसैले व्यवसायी माघ-फागुन पर्खँदै सुन स्टक गर्दैछन्।

गत महिना विभिन्न विवादका कारण वाणिज्य बैंकहरूले सुन आयात गरेका थिएनन्। गत सातादेखि भने आयात सुरु भएको छ।बैंकले आयात गरेको सुन व्यवसायीले खरिद गरी स्टक राख्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अब माघ र फागुनमा विवाहका लगन धेरै भएकाले व्यवसायीहरूले हाल आयात भइरहेको दैनिक २० केजीको कोटाले नपुग्ने भन्दै बढाउन माग गर्न थालेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले सिजनमा २० केजी सुनले नपुग्ने भएकाले कोटा बढाउन माग गरेको बताए।

‘बिहेको लगन धेरै हुँदा कारोबार बढी हुन्छ। बिहे र अन्य धार्मिक कार्यमा सुन प्रयोग हुने भएकाले माग बढी हुनु अस्वाभाविक होइन,’ उनले भने।

बजारको मागभन्दा आपूर्ति कम हुन सक्ने देखिँदा राष्ट्र बैंक र वाणिज्य मन्त्रालयमा कोटा बढाउन महासंघले जानकारी गराएको उनले बताए।

‘अब सिजनमा दैनिक ४० केजी सुन आयात गर्नु पर्छ भनेका छौं,’ उनले भने, ‘यसअघि बैंकले अफसिजनमा धेरै सुन आयात गर्दा बिक्री भएको थिएन। अहिले हामीले सुनको कोटा सिजनअनुसार बढाउन भनेका छौं।’

सिजन र अफसिजनमा आवश्यक पर्ने परिमाणअनुसार आयात गर्न सुझाव दिइएको उनी बताउँछन्।

त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले बजारमा सुनको आपूर्ति गर्न सरकारले कोटा बढाउनु पर्ने बताए।

‘सुनको मूल्य हालको अवस्थामा रहिरहे माघ र फागुनमा दैनिक ४० केजीभन्दा बढी सुन आवश्यक पर्छ,’ उनले भने, ‘सुन बजारमा वैधानिक बाटोबाटै आएको उचित हो। सरकार यसमा सकारात्मक हुनुपर्छ।’

अहिले पनि बैंकले जति आयात गर्नुपर्ने हो त्यति नआएको उनले बताए।

‘महिनामा ८ सय केजी सुन आयात हुनुपर्नेमा यतिबेला २६० केजी मात्र सुन आयात भइरहेको छ। यसले व्यवसायीको माग अनुसार सुन नपाइने अवस्था छ,’ उनले भने।

भन्सार घटेपछि भारतबाट सुनको तस्करी कम भएको छ। सिजनमा दैनिक सुनको खपत २५ केजीभन्दा बढी हुने व्यवसायीको दाबी छ।

यसलाई मध्यनजर गर्दै आयात हुनुपर्ने व्यवस्था गरे माग धेरै नभएको समयमा आपूर्ति सहज हुने उनीहरूको भनाइ छ। सरकारले कोटा बढाए भारतबाट हुने तस्करी पूर्ण रुपमा रोकिने महासंघ पदाधिकारीको बताउँछन्।

भन्सार नघट्दासम्म भारतबाट ठूलो परिमाणमा सुन तस्करी भएर आएको थियो। बैंकले आयात गरेको सुन बिक्री नभइ स्टक बसेको थियो।

कस्तो छ बजारमा सुनको कारोबार 

यतिबेला बजारमा कारोबार सामान्य रहेको व्यवसायीले बताएका छन्। अफसिजन भएकाले पुसमा उपभोक्ताबाट कम माग हुन्छ।

बिहे र अन्य धार्मिक कामका लागि सुनको कारोबार न्यून रहन्छ भने भाउ घटेको समय भएकाले उपभोक्ताले सुन जोडेर राख्न केही परिमाण खरिद गर्ने गर्छन्। यसले गर्दा अहिले बजारमा २० केजी भन्दा बढीको सुनको माग छ।

तर यो उपभोक्ताले खरिद गर्ने सुन होइन व्यवसायीले बैंकबाट खरिद गर्ने परिमाण हो। माघ र फागुनका लागि नयाँ गहना बनाउन र स्टक राख्न व्यवसायीले केही समयअघिदेखि कच्चा सुन खरिद गरेर राख्छन्।

महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यले आगामी महिनाका लागि उपभोक्ताले सुनको गहना बनाउन अर्डर गर्न थालेको बताए। अहिले मूल्य कम भएको समयमा उपभोक्ताले गहना अर्डर गर्न सुरु गरेको उनको भनाइ छ।

उनका अनुसार गहना बनाउन आउने उपभोक्ताले पुरानो सुन ल्याएर बनाउने गरेका छन्। करिब २० देखि २५ प्रतिशत उपभोक्ताले पुरानो सुन ल्याएर थप गरेर नयाँ बनाउने उनले जानकारी गराए।

सुनचाँदी व्यवसायी महसंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले पनि सुनको कारोबार कम भएका बेला सिजनलाई ध्यानमा राखेर स्टक गरिने बताए।

‘व्यवसायीहरू आगामी महिनाका लागि तयारीमा छन्,’ उनले भने, ‘कारोबारको टाइमका लागि अगाडि नै जोहो गर्नैपर्छ।’

केहीअघि भाउ बढ्दा सुन तोलाको १ लाख ७० हजार रुपैयाँभन्दा माथि पुगेको थियो। उक्त समयमा कारोबार कम थियो।

अहिले भन्सार घटेपछि प्रति तोला १ लाख ४८ हजारसम्ममा आइपुगेपछि बजारमा माग बढ्न थालेको थियो। यो साता फेरि सुनको भाउ बढेर प्रति तोला १ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ।