BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणले अघि बढायो कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया, प्रतिस्पर्धामा को को?

२०८१ पुष १९

बीमा प्राधिकरणले अघि बढायो कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया, प्रतिस्पर्धामा को को?
बीमा प्राधिकरणले अघि बढायो कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया, प्रतिस्पर्धामा को को?

काठमाडौं। नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अघि बढेको छ। प्राधिकरणले लोकसेवा आयोगको सहमतिमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवा गर्न कार्यकारी निर्देशकसहित अन्य पदहरुमा दरखास्त आह्वान गरेको हो।

Tata
GBIME

गत जेठमा राजुरमण पौडेल अनिवार्य अवकाश पाएर बाहिरिएसँगै प्राधिकरणको कार्यकारी निर्देशक पद रिक्त छ। कार्यकारी निर्देशक बन्न निर्देशक कमलराज रेग्मी, सुशीलदेव सुवेदी र पूजन ढुंगेल प्रतिस्पर्धामा छन्।

कानुन तथा नियमन महाशाखा प्रमुख रेग्मी निर्देशकहरुमध्ये सिनियर हुन्। तर, उनलाई यसअघि अध्यक्ष सूर्य सिलवालले कार्यवाहक कार्यकारी निर्देशकको जिम्मेवारी दिन मानेका थिएनन्। सिलवाल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्।

प्राधिकरणमा अहिले कार्यकारी निर्देशक तथा प्रवक्ताको जिम्मेवारी सुवेदीलाई दिइएको छ। अहिले सुपरिवेक्षण महाशाखा प्रमुख रहेका सुवेदी प्राधिकरणमा ‘पावरफुल’ मानिन्छन्।

सिलवालले यसअघि उनैलाई कार्यकारी निर्देशक बनाउन राजुरमणको अवकाश भए पनि नियुक्ति प्रक्रिया अघि बढाउन मानेका थिएनन्। विकास तथा प्रवर्धन महाशाखा प्रमुख रहेकी ढुंगेल पनि कार्यकारीको प्रतिस्पर्धामा छिन्। प्राधिकरणमा चार जना निर्देशकको दरबन्दी रहेकामा अहिले एउटा पद रिक्त छ।

यसपटक थप दुई निर्देशकको दरबन्दी सिर्जना गरेर पद संख्या चार पुर्‍याइएको छ। अहिलेका तीन जना निर्देशकबाट एउटा कार्यकारी बन्दा दुई निर्देशकको पद रिक्त रहनेछ भने दुई थप नयाँ गरेर ४ जनाको लागि दरखास्त खुलाइएको छ।

त्यस्तै, ३ जना प्रशासन र २ जना कानुन गरेर ५ जना उपनिर्देशकलाई आन्तरिक मूल्यांकनबाट बढुवा गरिने भएको छ। आन्तरिक प्रतिस्पर्धाबाट प्रशासनतर्फ उपनिर्देशकमा १ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

खुला तथा समावेशीबाट १० जना सहायक निर्देशक र ४ जना सहायक प्रथमका लागि विज्ञापन खुलाइएको छ। योग्य उम्मेदवारले माघ १८ गतेभित्र प्राधिकरणको मानव संसाधन विभागमा दरखास्त पेस गर्न सक्नेछन्।