काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले उकालो लागेको छ। बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा पुगेको छ।
बैंक, इन्भष्टमेन्ट, माइक्रो फाइनान्स, ट्रेडिङ र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्। विकास बैंकको सूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ। हाइड्रोपावरको सूचक १.८७ प्रतिशतले उकालो लागको छ।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएपछि तरंगित बनेको विकास बैंक समूहको सेयर फेरि लगानीकर्ताको रोजाइमा परेको हो।
१५६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ङादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। ६ कम्पनीको भाउ ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। ७७ कम्पनीको सेयरमूल्य घट्दा तिनका लगानीकर्ताले गुमाएका छन्।
सपोर्ट माइक्रोफाइनान्स सर्वाधिक ५.०२ प्रतिशतले सेयर मूल्य घटेको छ। बिहीबार ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएकामा सर्वाधिक प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४६ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
त्यस्तै, ङादी हाइड्रोपावर २० करोड ७२ लाख र हिमालयन डिष्ट्रिलरीको ११ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।