काठमाडौं। दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट पुन: ह्याक भएको छ। सन् २०२२ मा उही किसिमबाट ह्याकरहरुले प्राधिकरणको वेबसाइटमा आक्रमण गरेकामा अहिले फेरि आक्रमण भएको हो।
इन्डोनेसियाको मनाडो साइबर टिम नामक ह्याकर समूहले प्राधिकरणको वेबसाइटमा अनधिकृत पहुँच पुर्याएको हो।
ह्याकरहरुले प्राधिकरणको वेबसाइटको मुख्य पेजमा अहिलेसम्म पहुँच नबनाएपनि आफ्नो कन्टेन्ट वेबसाइटमा थपेका छन्। अर्थात् प्राधिकरणको वेबसाइट ‘कम्प्रमाइज’ भएको छ।
एक साइबर सुरक्षा विज्ञका अनुसार प्राधिकरणको वेबसाइटमा छुट्टै एउटा पेज ह्याकरहरुले बनाएका छन्। कन्टेन्टको हिज्जेमा समेत त्रुटि देखिन्छ।
‘छुट्टै पेजको फोल्डर बनाएर कन्टेन्ट थपिएको छ। कन्टेन्टकोरुपमा गीतको फाइल अपलोड गरिएको छ,’ ती विज्ञले भने।
इन्डोनेसियाको यो ह्याकर समूह सन् २०२२ देखि सक्रिय छ। यसअघि पनि नेपालमा इन्डोनेसियाली ह्याकरहरुले विभिन्न समयमा आक्रमण गर्दै आइरहेका छन्। प्राधिकरणको वेबसाइटमा पनि उही समूह हो वा फरक हो भन्ने यकिन भइसकेको छैन।
प्राधिकरणको वेबसाइटको मुख्य पेज अझै पनि सकुशल रहेकाले ह्याकरहरुसँग पूर्ण पहुँच पुगिनसकेको हुन सक्ने ती विज्ञले अर्थ्याए।
‘यदि पहुँच पुर्याएको भए त उनीहरुले मुख्य पेजमै परिवर्तन गरेर धावा बोल्थे होला। तर, त्यो भएको छैन। अहिलेको पहुँच हेर्दा उनीहरुले मालवेयर वा अतिरिक्त जावा स्क्रिप्ट हाल्दिन सक्ने सम्भावना हुन सक्छ। सिस्टम कम्प्रमाइज चाहिँ भएको छ,’ ती विज्ञले बिजमाण्डूसँग भने।