काठमाडौं। नेपाल राष्ट्र बैंकले गत साता कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएपछि विकास बैंक र फाइनान्सका लगानीकर्ता झस्किएका छन्।
पुस १२ गते नेप्से ४.१९ अंकले बढ्दा १५ वटै विकास बैंकको सेयर मूल्य घट्यो। कर्पोरेट डेभलपमेन्ट, नारायणी र सिन्धु विकास बैंकको सेयरमा नेगेटिभ सर्किट लाग्यो।
विकास बैंक उपसमूह २.४८ प्रतिशतले घट्दा फाइनान्सको सूचकमा सर्वाधिक २.७० प्रतिशतले गिरावट आयो। कर्णालीमाथिको कारबाहीपछि विकास बैंक र फाइनान्स कम्पनीले आइतबार पनि बिहीबारकै लय समाते।
आइतबार नेप्से २१.१२ अंकले घट्दा विकास बैंकको सूचक २.६५ र फाइनान्सको ४.४७ प्रतिशतले घट्यो। १४ वटा विकास बैंकको मूल्य घट्दा नारायणी डेभलपमेन्ट, सप्तकोशी र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।
यस्तै १५ वटै फाइनान्सको मूल्य ओरालो लाग्यो। जानकी फाइनान्समा नकारात्मक सर्किट लाग्यो। कर्णालीमाथि राष्ट्र बैंकले कारबाही गरेपछि वित्तीय अवस्था नाजुक भएका कम्पनीको मूल्य घट्न थालेको हो।
बिग्रिंदो वित्तीय अवस्थामा पनि सेयर मूल्य वृद्धिमा कर्णाली डेभलपमेन्ट बैंकको कारबाहीले ब्रेक लगाएको छ।
‘कर्णालीमा जस्तै अवस्था अन्य संस्थाहरुमा पनि देखिन्छ कि भन्ने त्रास लगानीकर्तामा देखिंदा यस्तो अवस्था आएको हो,’ स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष धर्मराज सापकोटाले भने, ‘बजार निरन्तर अघि बढ्दा त खासै कन्फिडेन्स देखिएको थिएन। अहिले अब यस्तो अवस्था आएपछि आशंका बढ्यो।’
तैपनि बजारमा अझै पनि खराब वित्तीय अवस्था भएका तिनै कम्पनीको मूल्य उच्च छ।
चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्म नारायणी डेभलपमेन्ट बैंकको निष्कृय कर्जा ३४.८१ प्रतिशत पुगेको छ। बैंक तीन महिनामा ४८ लाख रुपैयाँ घाटामा छ भने प्रति सेयर आम्दानी ऋणात्मक छ।
त्यसबाहेक अन्य सूचक पनि ऋणात्मक छन्। तैपनि कम्पनीको सेयर भाउ १०४० रुपैयाँ छ। कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा ३६३ रुपैयाँबाट वृद्धि भएर १४३३ रुपैयाँसम्म पुगेको थियो।
चालु आर्थिक वर्ष पहिलो त्रैमासमा विकास बैंकको वित्तीय अवस्था
विकास बैंक | नाफा लाखमा | खराब कर्जा % | प्रति सेयर आम्दानी रु | प्रति सेयर नेटवर्थ रु | सेयर मूल्य रु |
नारायणी | -४८ | ३४.८१ | -१.८५ | २३.८८ | १,०४०.९० |
एक्सल | -१२३० | ११.७३ | ३९.३७ | १५६.५४ | ५६३ |
लुम्बिनी | १७३२ | ३.६९ | २२.९७ | १९६.७९ | ४७३.७ |
मितेरी | ७३ | १.८ | २.६५ | १४४.०२ | ७११.९ |
महालक्ष्मी | ९४२ | ४.९ | ९.०४ | १६३.४८ | ३८९.२ |
गरिमा | २६०६ | ३.८२ | १५.९ | १६२.०७ | ३९६.५ |
ज्योति | १५११ | ४.९८ | १३.७६ | १४८.८२ | ३६८ |
कर्पोरेट | २१ | ४.९५ | १.६५ | १४३.७४ | १,३९९.५० |
कामना सेवा | १७४९ | ३.९६ | १९.९४ | १५४.२१ | ४४० |
सांग्रिला | ६०१ | ४.६५ | ७.०२ | १४६.९४ | ४०७ |
साइन रेसुंगा | २३९३ | ३.५ | २०.२३ | १५१.०३ | ४०२ |
मुक्तिनाथ | २८१८ | ३.१६ | १६ | १५४.१ | ३७५ |
सिन्धु | २३० | ११.२९ | १६.५५ | ७४.२२ | ७६१.४ |
ग्रिन | -१५७६ | ४.७३ | -२.१९ | ११३.७९ | ८८० |
सप्तकोशी | -८७७ | १४.७७ | -४२.०९ | ७०.३२ | ८७२.१ |
कर्णाली | -१९८ | ४०.८५ | -३.९४ | ९७.५ | ८१० |
सप्तकोशी डेभलपमेन्ट बैंकको निष्कृय कर्जा १४.७७ प्रतिशत छ। चालु वर्ष पहिलो तीन महिनामा बैंक ८ करोड ७७ करोड रुपैयाँ नोक्सानीमा छ।
बैंकको प्रति सेयर आम्दानी ४२.०९ रुपैयाँ ऋणात्मक छ। तर, खराब सूचककै बीच बैंकको सेयर मूल्य अझै प्रति कित्ता ८७२ रुपैयाँ छ। बैंकको सेयर भाउ पछिल्लो एक वर्षमा २३७ रुपैयाँबाट बढाएर प्रति कित्ता ११८० रुपैयाँसम्म पुर्याइएको थियो।
एक्सल डेभलपमेन्ट, सिन्धु विकास र ग्रिन डेभपलमेन्टको वित्तीय अवस्था पनि कमजोर छ। खराब वित्तीय अवस्थाले ती बैंकको सेयर मूल्यमा यसअघि कुनै असर पारेको थिएन।
फाइनान्सतर्फ जानकीको खराब कर्जा ३४.६४ प्रतिशत छ। कमजोर वित्तीय सूचकबीच मूल्य उचालिएको कम्पनीको सेयर भाउ आइतबार नेगेटिभ सर्किट लागेपछि ८३३ रुपैयाँमा झरेको छ।
चालु आर्थिक वर्ष पहिलो त्रैमासमा फाइनान्सको वित्तीय अवस्था
फाइनान्स | नाफा लाखमा | खराब कर्जा % | प्रतिसेयर आम्दानी रु | प्रति सेयर नेटवर्थ रु | सेयर मूल्य रु |
नेपाल | -२४० | १०.३६ | -३.२९ | १३५.८६ | १,००२ |
गोर्खाज | २४२ | १३.४५ | ११.१९ | १६४.९३ | ६५७ |
बेस्ट | -८६ | ३.९८ | -३.८८ | १३४.९१ | ६३८.९ |
गुडविल | ४९५ | ४.९१ | २०.९३ | १९४.५७ | ७७७.१ |
पोखरा | -५१४ | १४.४४ | -१८.११ | १०९.२४ | ५७७ |
श्रीइन्भेष्टमेन्ट | ४१ | ३.१९ | १.६९ | १३८.७७ | ५७१.९ |
सेन्ट्रल | ४९५ | ८.७१ | २०.८७ | १३३.८ | ५८२ |
जानकी | ६९० | ३४.६४ | ४० | ६७.९ | ८३३.४ |
समृद्धि | -१८२ | २३.४७ | -८.८९ | ६०८ | |
गुहेश्वरी | -११३३ | १३.५६ | -८.७५ | १३२.२२ | ५४६ |
आईसीएफसी | ६८८ | ३.६६ | २३.२५ | १६९.१८ | ६५२.१ |
प्रोग्रेसिभ | ८०९ | ७.४७ | ३८.१७ | ७०.७६ | ६०९ |
मल्टिपर्पोज | १४७ | ४.९७ | ९.६९ | ११५.७३ | ६५१ |
मञ्जुश्री | ९३८ | ३.१२ | २७.८९ | १७३.९३ | ६५० |
रिलायन्स | -५७५ | ८.५८ | -२०.५३ | १०२.९९ | ५६१.८ |
नेपाल फाइनान्सको वित्तीय अवस्था नाजुक छ। पहिलो त्रैमासमा २ करोड घाटामा रहेको फाइनान्सको खराब कर्जा १०.३६ प्रतिशत र प्रति सेयर आम्दानी ३.२९ रुपैयाँ ऋणात्मक छ।
गत असार मध्यपछि सेयर मूल्य उचालेर २६१४ रुपैयाँ पुर्याइएकामा फाइनान्सका लगानीकर्ताले त्यसपछि लगातार गुमाएका छन्। कम्पनीको सेयर मूल्य अहिले एक हजार रुपैयाँमा आएको छ।
समृद्धि, गुहेश्वरी, पोखरा र गोर्खाज फाइनान्सको पनि वित्तीय अवस्था कमजोर छ। तैपनि यी कम्पनीको सेयर भाउ अझै उच्च छ। सेयर मूल्य उच्च भएका फाइनान्स र अधिकांश विकास बैंक लगानीकर्तालाई प्रतिफल दिन सक्ने अवस्थामा छैनन्।
तर, सूचीकृत सेयर कम भएका कारण कर्नरिङ गरेर मूल्य बढाउने गरिएको छ।
‘राष्ट्र बैंकले कर्णालीलाई कारबाही गरेपछि विकास बैंक र फाइनान्सको सेयर भाउ ओरालो लागेको छ। वित्तीय अवस्था कमजोर भएका कम्पनीको भाउ घट्नु बजारका लागि राम्रो कुरा हो,’ एक ब्रोकरले भने, ‘तर, खराब वित्तीय अवस्थाका कतिपय विकास बैंक र फाइनान्सको पब्लिक सेयर कम छ। त्यसैले नन् फण्डामेन्टल ती स्टकलाई फेरि उचाल्ने काम हुँदैन भन्न सकिंदैन। नियामकले गहिरोरुपमा नहेरे कर्नरिङ गरेर बढाउने काम हुन सक्छ। त्यसो भए बजारमा क्राइसिस निम्तिने जोखिम हुन्छ,’