काठमाडौं। नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा उलटफेर देखिएको छ। खासगरी स्कुटरको बढ्दो बिक्रीका कारण बजारमा उथलपुथल देखिएको हो।
होन्डा पोहोरझैं यो वर्ष पनि पहिलो नम्बरमा कायम रहने देखिएको छ भने अरु कम्पनी तलमाथि भएका छन्।
होन्डा बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता पद्म ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङले चालु आर्थिक वर्ष ५ महिनामा २५ हजार ५०५ युनिट बाइक तथा स्कुटर आयात गरेको छ। तीमध्ये स्कुटर २० हजार ४६७ युनिट हुन्। कम्पनीको डिओ स्कुटर सबैभन्दा धेरै बिक्री हुने मोडल हो।
होन्डाले टीभीएससँग प्रतिस्पर्धा गरिरहेको छ भने बजाज र यामाहाले बजार हिस्सा गुमाउँदै गएका छन्।
५ महिनाको आयातका आधारमा यामाहा र बजाजलाई टीभीएसले पछि पारेको छ। गत वर्षसम्म टीभीएस चौथो स्थानमा थियो। स्कुटरको बिक्रीले गर्दा टीभीएस दोस्रो स्थानमा उक्लिएको हो।
टीभीएस बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले यो वर्ष साउनदेखि मंसिरसम्म १९ हजार ३० युनिट आयात गरेको छ। यसमा स्कुटर १२ हजार ७ सय ३४ र बाइक ६ हजार २ सय ९६ युनिट छन्। टीभीएसको सबैभन्दा धेरै बिक्री हुने मोडल एनटर्क हो।
दुई वर्ष अघिसम्म दुई पाङ्ग्रे सवारीसाधनको बजारमा बाइकको हिस्सा ६० प्रतिशत र स्कुटरको ४० प्रतिशत रहेकामा अहिले बाइक र स्कुटर बराबरी संख्यामा बिक्री हुने गरेका छन्। त्यही कारण स्कुटर नभएका बजाज जस्ता ब्रान्डले आफ्नो बजार हिस्सा गुमाउँदै गएका छन्।
स्कुटर सेग्मेन्टमा आफ्नो प्रोडक्ट नहुँदा बजाज यो वर्ष तेस्रो स्थानमा ओर्लिएको छ। बजाजको आधिकारिक बिक्रेता गोल्छा अर्गानाइजेस अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले ५ महिनामा १६ हजार ९ सय ९८ युनिट बाइक आयात गरेको छ। बजाज गत वर्ष नेपाली बाइक बजारमा दोस्रो स्थानमा थियो।
यामाहा आफ्नो बजार हिस्सा गुमाउँदै चौथो स्थानमा पुगेको छ। चालु वर्ष ५ महिनामा एमएडब्लू राइड्सले यामाहाका १६ हजार १ सय ७० युनिट बाइक तथा स्कुटर आयात गरेको छ। तीमध्ये ९ हजार ४ सय ७८ युनिट स्कुटर र ६ हजार ६ सय ९२ युनिट बाइक हुन्।
कम्पनी बाइक तथा स्कुटर आयातका आधारमा गत वर्ष तेस्रो स्थानमा थियो।
आधिकारिक बिक्रेता र उत्पादक कम्पनीबीचको लफडाले गत वर्ष आयात नभएको हिरो यो वर्ष पाँच महिनामा पाँचौं स्थानमा छ।
हिरो ब्रान्डको बाइक तथा स्कुटरको नयाँ आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले स्कुटरभन्दा धेरै बाइक आयात गरेको छ। कम्पनीले चालु आवमा ७ हजार ७ सय ७२ युनिट बाइक र १७ सय २५ युनिट स्कुटर आयात गरेको हो।
यस्तै रोयल इन्फिल्ड बाइक नेपाली बजारमा पाँच महिनामा ५ हजार ६ सय ५६ युनिट भित्र्याइएको छ। गत वर्ष करिब १० हजार युनिट रोयल इन्फिल्ड बाइक बिक्री भएकामा यो वर्ष बजार बढ्ने अनुमान छ।
केटीएम ब्राण्डका ११ सय १६ युनिट बाइक तथा सुजुकी ब्राण्डका ३०० वटा स्कुटर र ७८ वटा बाइक आयात भएको भन्सार विभागको तथ्यांक छ।
स्कुटरको बिक्री बढ्नुका कारण
बाइकको तुलनामा स्कुटर चलाउन सजिलो हुन्छ। व्यापारीहरुका अनुसार अहिले बाइकको तुलनामा स्कुटरको माग बढ्दो छ।
सामान बोक्न सहज भएकाले किनमेल गर्न र छोटो दूरीको यात्रा गर्न स्कुटर चलाउनेहरु बढ्दै गएका छन्। स्कुटर पछिल्लो समय मल्टिपर्पोज सवारी साधन बनेको व्यापारीहरुको भनाइ छ।
सहरी क्षेत्रमा ट्राफिक जाममा बाइकको तुलनामा स्कुटर चलाउन सजिलो हुन्छ। कतिपयले स्कुटरलाई बाइकको तुलनामा सुरक्षित मान्छन्।
पछिल्लो समयमा बजारमा आकर्षक डिजाइनका साथै डिस्क ब्रेक, डिजिटल मिटर, मोबाइल चार्जिङ पोइन्ट लगायत सुविधाका स्कुटर भित्रिरहेका छन्। स्कुटरले बाइकको तुलनामा कम पेट्रोल खपत गर्छ। यस्तै कामकाजी महिलाको संख्या बढेका कारण पनि स्कुटरको माग बढेको व्यापारीहरुको बुझाइ छ। साथै बाइकभन्दा कम मूल्यमा पाइने भएकाले पनि स्कुटरको बजार बढेको हो।