काठमाडौं। चिनियाँ विद्युतीय सवारी (इभी) निर्माता कम्पनी लिपमोटरले नेपाली बजारमा १०० वटा सी१० गाडी बिक्रीको ‘माइलस्टोन’ पूरा गरेको छ।
शनिबार लिपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्सले एक कार्यक्रम आयोजना गर्दै नेपाली बजारमा लिपमोटरको सी१० एसयूभी १०० वटा बिक्री भएको जानकारी दिएको हो।
लिपमोटरको सी१० गत भदौको दोस्रो सातादेखि आयोजना भएको नाडा अटो शोबाट नेपाली बजारमा भित्रिएको थियो। कम्पनीले नाडा अटो शोमा लगभग डेढ सय युनिट बुकिङ भएको जानकारी दिएको थियो।
सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले उक्त माइलस्टोन पूरा भएको घोषणा गरेका हुन्। उनले असोजमा आएको बाढीले गर्दा बाटो बन्द भएकाले गाडी डेलिभरी दिन १ महिना ढिला भएको बताए।
उनले भने, ‘अन्यथा लिपमोटरले धेरै सफलता बनाउने थियो। कम्पनीले तिहारपछि मात्रै गाडी डेलिभरी दिन थालेको थियो।’
ग्राहकले देखाएको यो विश्वासलाई आत्मसात गर्दै आगामी दिनमा पनि लिपमोटरलाई नयाँ उचाईमा पुर्याउने उनले बताए। लिपमोटरको सर्भिस र अन्य पूर्वाधार निर्माणमा लगानी गर्ने उनले प्रतिबद्धता गरे।
चार्जिङ स्टेसन निर्माणमा पनि शारडा ग्रुपसँग मिलेर सांग्रिला मोटर्सले काम गर्ने उनले बताए। यसरी नै आगामी दिनमा इभीका लागि इकोसिस्टम तयार पार्दै जाने उनको भनाइ छ।
कम्पनीले लिपमोटरको आको ह्याचब्याक गाडी टी०३ पनि छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने गोल्छाले जानकारी दिए।