काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरुको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिएका छन्।
उनले शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र मन्त्रालयका अधिकारीहरुलाई बोलाएर सरकारले हालै जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, लघुु, घरेलुु तथा साना उद्योग प्रवर्धन नीति र राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयनको अवस्थाबारे ब्रिफिङ लिएका हुन्।
लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट र हेटौंडा कपडा उद्योग लगायतलाई सरकारको स्वामित्व रहने गरी निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको ओलीको सचिवालयले जनाएको छ।
ओलीले आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने दिशामा ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिएका छन्।