काठमाडौं । चीनसँग सीमा जोडिएको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको छ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
भोटेकोशी बगरमा ७०० मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर सम्म्याउने, गोदामका दुई भवन निर्माण भएका छन्।
आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको उनले बताए। बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालबाहक र एक सय साना सवारी साधन पार्किङ गर्न सकिने छ।