काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ। प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि सरकारले सिफारिस समिति गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरण अध्यक्षको नाम सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा गठित सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा सदस्य छन्।
प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल नागरिकता किर्ते मुद्दाका कारण निलम्बनमा परेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनको कार्यकाल माघ १९ गते सकिंदैछ। सिलवाल निलम्बनमा परेपछि अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव मदन दहाललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएका छन्।