काठमाडौं। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले पुस २१ देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।
इन्स्योरेन्सले दोस्रो चरणमा सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो।
लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० देखि अधिकतम् १ हजार कित्ताका लागि लगानीकर्तालेे आवेदन दिन सक्नेछन्।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि आइपीओ बिक्री गरिसकेको छ।
इन्स्योरेन्सले कुल सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका श्रमिक र १ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ।
यस्तै, निष्कासनको ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार बराबरको ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।