काठमाडौं। सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्याएको भन्दै बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले शर्मालाई संयुक्तरुपमा अवार्ड प्रदान गरे।
नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले अवार्डसँगै ३ लाख रूपैयाँ पाएकी छन्।
उनी १८ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा क्रियाशिल छन्। उनी २००६ मा आईटी सपोर्ट अफिसरका रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिइन्।
नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षालगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एनसेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यसअघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शिला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमीले ‘एनसेल वुमन आइकन आईसिटी अवार्ड’ पाएका थिए।