काठमाडौं। पूर्व उपपप्रधान एवम् गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको छ। जिल्ला अदालत कास्कीमा दायर भएको अभियोगपत्रमा निकिता पौडेललाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको हो।
सम्पत्ति शुद्धीकरणमा रवि लामिछानेविरुद्ध २७ करोड ८७ लाख ४४ हजार रुपैयाँ माग दाबी गरिएको छ। सो सम्पत्ति पत्नी पौडेलको नाममा गएको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको हो।
अपराधमा संलग्न नभएको तर प्रतिवादीले कसुरबाट आर्जन गरेको सम्बन्धी अरुको नाममा गएको खण्डमा सम्पत्ति जफतको लागि प्रतिवादी बनाउने गरिएको छ। अनुसन्धानको क्रममा प्रहरीले निकिताको रकम रहेको एक दर्जन भन्दाबढी बैंक खाता हेरेको थियो। १० वर्षअघिको बैंक स्टेटमेन्ड हेरेर रवि लामिछानेसँग जोडिएको सम्बन्धपछिको कारोबारलाई केलाएर अनुसन्धान गरेको हो।
त्यस्तै रविभन्दा एक महिना अगाडि पक्राउ परेका गोर्खा मिडियाका संचालक छविलाल जोशीको परिवारलाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। जोशीकी पत्नी र छोरालाई प्रतिवादी बनाएको हो। जोशीको हकमा ७४ करोड ७१ लाख रुपैयाँ माग दाबी गरिएको छ।
रवि र छविलालविरुद्ध ३ वटा कसुरमा मुद्दा दायर भएको छ। जसमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरणमा र संगठित अपराध रहेको छ।
अर्का प्रतिवादी लिला पछाईंलाई पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको हो। उनकी आमा र दीदीको नाममा रकम गएको देखिएपछि प्रतिवादी बनाइएको छ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको हो। पुस १ गते जिल्ला प्रहरी कार्यालय कास्कीले रवि पक्राउ परेको ६०औं दिनमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
६ दिनसम्म सरकारी वकिल कार्यालयले अध्ययन गरेर आइतबार अभियोगपत्र दायर गरेको हो।