काठमाडौं । सार्वजनिक निष्कासन गरेर लगानीकर्ताबाट पैसा उठाएको वर्षौंसम्म लाभांश नदिएका कम्पनीहरुको लामो सूचीमा केही त्यस्ता कम्पनी पनि छन् जसले आइपीओ निष्कासनसँगै प्रतिफल दिइरहेका छन्।
पाँच वर्षयता आइपीओ निष्कासन गरेकामध्ये दुई दर्जन कम्पनीले सूचीकृत भएदेखि सेयरधनीलाई प्रतिफल दिइरहेका हुन्।
अहिले नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६७ छ। तीमध्ये झण्डै एकतिहाइ कम्पनीले ६ वर्षयता लगानीकर्तालाई प्रतिफल नै दिएका छैनन्।
आइपीओमार्फत लगानीकर्ताबाट पैसा उठाएर प्रतिफल नदिने कम्पनीको सूची लामो हुँदा पछिल्लो ६ वर्षयता साधारण सेयर जारी गरेकामध्ये दुई दर्जन कम्पनीले भने लगातार मुनाफा वितरण गरिरहेका हुन्।
त्यस्ता कम्पनीको सूचीमा हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, इन्स्योरेन्स र माइक्रोफाइनान्स क्षेत्रका कम्पनी छन्।
२०७५ सालमा आइपीओ निष्कासन गरेको शिवम् सिमेन्टले सूचीकृत भएपछि निरन्तर लाभांश वितरण गरिरहेको छ। सुरुका वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले पछिल्लो दुई वर्ष बोनस सेयर दिएको छ।
गत वर्ष चैतमा आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टले २०७९/८० को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। कम्पनीले पोहोरको मुनाफाबाट ३ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।
यस्तै, गत पुसमा आइपीओ निष्कासन गरेको हिमालयन रि-इन्स्योरेन्सले २०७९/८० को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। कम्पनीले पोहोर आर्जन गरेको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ।
सार्वजनिक निष्कासनको छोटो अवधिमै धेरै पटक प्रतिफल दिने कम्पनीको सूचीमा ८ वटा लघुवित्त छन्। जबकी नेप्सेमा सूचीकृत लघुवित्तको संख्या ५० छ। ८ वटा हाइड्रोपावरले लगानीकर्तालाई सार्वजनिक निष्कासनमा गएपछि लाभांश दिएका छन्। अहिले सूचीकृत हाइड्रोपावरको संख्या ९१ छ।
कम्पनी | सूचीकृत मिति | लाभांश वितरण वर्ष |
शिवम् सिमेन्ट | २०७५ चैत | ७ |
सर्वोत्तम सिमेन्ट | २०८० चैत | २ |
हिमालयन रि-इन्स्योरेन्स | २०८० पुस | १ |
रुरु जलविद्युत | २०७८ वैशाख | ५ |
विन्धवासिनी हाइड्रो डेभलपमेन्ट | २०७९ साउन | ३ |
मन्दाकिनी हाइड्रोपावर | २०७९ साउन | ३ |
सिकलेस हाइड्रोपावर | २०७९ कात्तिक | २ |
सुपरमार्दी हाइड्रोपावर | २०७९ फागुन | २ |
सुपरमाई हाइड्रोपावर | २०७९ जेठ | २ |
माण्डू हाइड्रोपावर | २०८० असोज | २ |
भगवती हाइड्रोपावर | २०८० असोज | २ |
गणपति लघुवित्त | २०७६ जेठ | ३ |
गुराँस लघुवित्त | २०७६ जेठ | ४ |
स्वाभिमान लघुवित्त | २०७६ जे | ४ |
इन्फिनिटी लघुवित्त | २०७६ असार | ४ |
एनआईसी एसिया लघुवित्त | २०७६ असार | ३ |
महिला लघुवित्त | २०७७ चैत | २ |
जीवन विकास लघुवित्त | २०७८ साउन | ४ |
नेष्डो समृद्ध लघुवित्त | २०७८ चैत | २ |
माउन्टेन इनर्जी नेपाल | २०७७ मंसिर | ३ |
नेपाल इन्फ्रास्ट्रक्चर बैंक | २०७७ भदौ | ३ |
आइएमई लाइफ | २०८० साउन | १ |
रिलायबल नेपाल लाइफ | २०८० भदौ | १ |
सन नेपाल लाइफ | २०८० असोज | १ |
सिटिजन्स लाइफ | २०८० असोज | १ |
कम्पनीहरुले सेयरधनीलाई प्रतिफल वितरण गर्नका लागि मुनाफा आर्जन गर्नुपर्छ। सेयरधनीले प्रतिफल प्राप्त गर्नकै लागि लगानी गरेका हुन्छन्।
धेरै कम्पनीले लामो अवधिदेखि लाभांश वितरण गर्न नगरेको पृष्ठभूमिमा केही कम्पनीले कसरी लगानीकर्तालाई प्रतिफल दिइरहेका छन त?
जानकारहरु कम्पनीको संचित मुनाफा र लाभांशलाई रणनीतिका हिसाबले बुझ्नुपर्ने धारणा राख्छन्।
‘कम्पनीहरुले लाभांश दिने भनेको मुनाफाबाट हो। आइपीओ निष्कासनपछि सार्वजनिक रुपमा कम्पनीलाई राम्रो देखाउन उनीहरुले मुनाफा वितरणको रणनीति अपनाउन पनि सक्छन्। जसले सेयर बजार र लगानीकर्तासमक्ष सकारात्मक प्रभाव रहन्छ,’ एक मर्चेन्ट बैंकरले भने, ‘अर्को भनेको राम्रो आम्दानी र वित्तीय सुशासन बलियो भएपछिको परिणाम हो।’
कम्पनीको व्यवस्थापकीय नेतृत्व कस्तो छ र कुन रणनीतिका साथ काम गरेर कम्पनीलाई कस्तो बनाइएको छ भन्ने कुरा प्रतिफलमार्फत देखिने वित्तीय जानकारको भनाइ छ।
सार्वजनिक निष्कासनसँगै सेयरधनीलाई प्रतिफल वितरण गर्ने कुरा कम्पनीको रणनीति र व्यापारमा भर पर्ने जानकारहरु बताउँछन्।
‘कम्पनीहरुको नीति र रणनीति फरक फरक हुन्छ। कुनैलाई आइपीओ निष्कासन गर्ने बित्तिक्कै मुनाफा सर्कुलेसन गरिहाल्नुपर्छ भन्ने हुन्छ,’ ब्रोकर अतितलाल श्रेष्ठले भने, ‘कसैले विगतमा बिजनेस राम्रो गरिरहेका पनि हुन सक्छन् त्यसैको प्रतिफल हो।’
कोभिड-१९ पछि आर्थिक गतिविधि शिथिल छ। व्यापारमा उच्च गिरावट आउँदा कम्पनीहरुको खासै नाफा वृद्धि गर्न सकेका छैनन।
व्यापार खस्किँदा वाणिज्य बैंककै लाभांशदर संकुचन हुँदै गएको छ। वित्तीय अवस्था अब्बल भएका कम्पनीले समेत लगानीकर्तालाई खासै प्रतिफल बढाउन सकिरहेका छैनन्।
वित्तीय सुशासन र कुशल व्यवस्थापकीय क्षमता भएका कम्पनीहरुले भने कठिन अवस्थामा पनि लगानीकर्ताको अपेक्षा पूरा गरिरहेको जानकारहरु बताउँछन्।
‘कम्पनीको वित्तीय सुशासन महत्वपूर्ण पाटो हो। आर्थिक अवस्था शिथिल भएको बेला समेत सेयरधनीको अपेक्षा पूरा गर्न सक्नु कुशल व्यवस्थापकीय क्षमता हो,’ एक मर्चेन्ट बैंकरले भने।