काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरको खेल बिहीबार सम्पन्न भयो। कर्णाली याक्सलाई ११८ रन डिफेन्ड गर्नुपर्ने थियो। १३ देखि १५ ओभरसम्म जनकपुरले मोमेन्टलाई ठ्याक्कै परिवर्तन गरेको थियो।
विलियम बोसिस्टो र सोमपाल कामी जस्ता प्रभावशाली खेलाडी आफ्ना ओभरमा दोहोरो अंकको रन दिइरहेका थिए। क्रिजमा थिए न्युजिल्याण्डका धुरन्धर ब्याटर जिम्मी निशम।

यस्तोमा बलिङ लिएर आए विपीन शर्मा। १६ वर्षे यी बलरले निशमलाई १५.३ ओभरमा बोल्ड आउट गरे। क्रिजमा रहेका निशम केहीबेर अवाक भए र पभेलियन फर्किए। सोही ओभरमा उनले अर्का प्रभावशाली अलराउण्ड मोहम्मद मोहसिनलाई पनि एलबीडब्लु आउट गरे।
भलै, जनकपुरविरुद्धको खेलमा पराजित हुँदै कर्णाली बाहिरियो। तर, शर्माले भने नेपाली क्रिकेटमा बलियो छाप छाड्न सफल भएका छन्।
‘राम्रो प्रदर्शन गरेर विकेट लिएको थिएँ। तर फाइनल पुग्न सकेनौं दु:ख लागेको छ,’ उनले भने,’निशम पनि देब्रे हाते भएकाले आक्रामक ब्याटिङ गर्छन् भन्ने थाहा थियो।’

उनी दोस्रो बल लेग साइडमा दिएको भन्दै विकेटकिपर वाल्टनले सल्लाह बमोजिम बलिङ गरेको बताउँछन्।
‘निशम पनि टिकिरहेका थिए। तर वाल्टनले भनेअनुसार गरेका कारण विकेट लिएँ।’ उनले भने।
निशमलाई लिएर भने उनले एउटा किस्सा सुनाए। उनले होटलमा निशमलाई भेट्दा आफूले विकेट लिने बताएको सुनाए।
‘निशमले राम्रो ब्याटिङ गरेका थिए। अस्तिको पार्टीमा उसलाई आउट गर्छु भनेको थिएँ। उहाँले फेन्टास्टिक भन्नु भएको थियो।’ उनले भने।
निशमले पनि विपीनलाई आफूलाई त्यसो भनेको स्वीकारे।
आजमात्र होइन, उनले विपक्षी टोलीको ‘सेट’ ब्याटरलाई पभेलियन फर्काउने काम लिगभरी नै गरिरहे। उनको विकेटको सूचीमा एनपीएलका प्रभावशाली ब्याटरहरुको नाम छ।

आठ खेल खेल्दा उनले १३ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा राम्रै स्थान बनाउन सफल भएका छन्।
विपीनभन्दा धेरै विकेट तीन खेलाडीले लिएका छन्। सुदूरपश्चिममा आवद्ध न्युजिल्याण्डका अनुभवी बलर स्कट कुगेलियन र जनकपुरका ललित राजवंशीले समान १६ विकेट लिँदा सोहइल तन्विरले १४ विकेट लिएका छन्।
जारी प्रतियोगितामा नेपाली खेलाडीको हिसाबले हेर्ने हो भने उनी सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन्।
एनपीएलमा प्रभावशाली प्रदर्शन गरिरहेका उनी अक्सनबाट राम्रो रकम पाएर आएका खेलाडी भने होइनन्। उनी ट्यालेन्ट हण्टबाट आएका ‘आईकोनिक’ खेलाडी हुन्। यसअघि उनले विभिन्न उमेर समूहका प्रतियोगिता खेलेका छन्। उनले खेलेका हरेक खेलमा उनको बलिङ फिगर राम्रो छ।
एनपीएलमा भने उनले उडान भर्न सफल भएका छन्। उनले शिखर धवन, सोमपाल कामी, जिसन मक्सुद, विलियम बोसिस्टो जस्ता नेपाली र विदेशी खेलाडीसँग ड्रेसिङ रुम शेयर गर्ने मौका पाए।
भारतीय शिखर धनवसँग हुँदाले राम्रो छ भनेर प्रशंसा गरेको कुरा उनले सम्झिए।

‘धवनसँग क्रिजमा उभिनु नै हाम्रो ठूलो कुरा हो। उहाँ टोलीमा हुँदा विपक्षी बलरको मनमा प्रश्न आउँछ। उहाँले माइन्ड सेटबारे सिकाउन भयो।’ उनले भने।
मौकालाई सदुपयोग गर्दै उनले जिम्मी निशम, माइकल लेभिट, सोहइल तन्वीर, बेन कटिङ, मार्टिन गप्टिल, आन्द्रेस गौस जस्ता एनपीएलमा प्रभावकारी भएर र विश्व क्रिकेटमै प्रभावशाली प्रदर्शनका लागि चिनिने खेलाडीको विकेट उनले लिए।
सुरुमा भने ठूलो प्रतियोगितामा आइपुग्दा उनले सहज महसुस गर्न सकेनन्। ‘यो प्रतियोगिता खेल्दा पहिलो दिन नर्भस भएको थिएँ। तर, सबैले सजिलो बनाउनुभयो। त्यसपछि राम्रो भयो,’ उनी भन्छन्, ‘पहिलो सिजनमा आएर चम्किन्छन् हराउँछन्। म त्यस्तो हुन चाहँदिन। म आफ्नो प्रोसेस फलो गर्छु।’