काठमाडौं। जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससामू १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो क्वालिफायरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरका लागि जिम्मी निशमले सर्वाधिक ४५ रनको योगदान दिए। अघिल्लो खेलमा पनि उनले चितवनविरुद्ध २४ बलमा ६५ रन बनाएका थिए।
नियमित कप्तान अनिलकुमार साह चोटका कारण प्लेइङ ११ बाहिर रहँदा बोल्ट्सको कप्तानी आशिफ शेखले गरिरहेका छन्।
जनकपुरका ओपनर लाहिरु मिलन्था र आशिफ शेखले पहिलो विकेटका लागि १९ रनको साझेदारी गरे। २.५ ओभरमा १२ रन बनाएका मिलन्था दीपेन्द्रसिंह ऐरीको बलमा एलबीडब्लु आउट भए। अर्का ओपनर आशिफ शेख ११ रन बनाएर ५.५ ओभरमा सैफ जैबको बलमा बोल्डआउट हुन पुगे।
तेस्रो विकेट शुभ कंशाकारको गुम्यो। २४ बलमा २६ रन बनाएका उनी क्रिजमा हर्ष ठाकरसँग असमझदारीकाबीच रनआउट हुन पुगे।
त्यस्तै हर्ष १२ रन बनाएर जैबकै बलमा ब्राण्डन म्याकमुलनबाट क्याचआउट भए। अर्का ब्याटर अरनिको यादव ११ रन बनाएर ऐरीबाट एलबीडब्लु आउट हुन पुगे।
जनकपुरका लागि जिम्मी निशमले आज पनि बिस्फोटक ब्याटिङ गरे। उनले २२ बलमा समान ३ चौका र ३ छक्काको सहायतामा ४५ रन बनाए। लगत्तै आएका शेर मल्ल ३ रन बनाएर ठूलो सर्ट खेल्ने सुरमा बाउन्ड्री नजिकै क्याचआउट हुन पुगे।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा ब्राण्डन म्याकमुलनले २ तथा स्कट कुगेलेइन र नरेन साउदले समान १ विकेट लिए।