BIZMANDU
www.bizmandu.com

कुलमानले उद्योगमा गर्न थाले लोडसेडिङ, ‘माथिल्लो तामाकोशी बन्द हुँदा माग धान्न सकिएन’

२०८१ पुष २

कुलमानले उद्योगमा गर्न थाले लोडसेडिङ, ‘माथिल्लो तामाकोशी बन्द हुँदा माग धान्न सकिएन’
कुलमानले उद्योगमा गर्न थाले लोडसेडिङ, ‘माथिल्लो तामाकोशी बन्द हुँदा माग धान्न सकिएन’

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ गर्न थालेको छ। देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना बन्द भएका कारण प्राधिकरणले पिक समय (साँझ ५ देखि ९ बजेसम्म)मा उद्योगमा लोडसेडिङ गर्न थालेको हो।

Tata
GBIME
Nepal Life

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा अहिले पिक समयमा विद्युत् व्यवस्थापन गर्न समस्या भइरहेको बताए। उनले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती नगर्ने प्रष्ट पारे।

घिसिङले माथिल्लो तामाकोशी बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताए।

‘पिक समयमा आयात अनुमति पाएका छैनौं। माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो। माथिल्लो तामाकोशीको मर्मत तीब्र गतिमा भइरहेको छ। आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नु पर्ने अवस्था छ,’ उनले भने।

प्राधिकरणलाई भारतको केन्द्रीय विद्युत प्राधिकरणले आगामी चैत २ गतेसम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट विद्युत् आयात गर्न अनुमति दिएको छ। तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ।

कुलमानका अनुसार माथिल्लो तामाकोशीको पुनर्निर्माण सम्पन्न नभएसम्म विद्युत् बढी माग हुने साँझको समयमा औद्योगिक क्षेत्रमा केही समय लोडसेडिङ गर्नुको विकल्प छैन।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीको संरचनामा क्षति पुर्‍याएका कारण आयोजनाबाट विद्युत उत्पादन बन्द छ। प्राधिकरणले माथिल्लो तामाकोशीबाट पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको जनाएको छ।

प्राधिकरणका अनुसार आयोजना मर्मत सम्भारपछि विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ।

हिउँदयाममा ग्राहकले दैनिक १८ घण्टासम्म अंध्यारोमा बस्नु परेको पृष्ठभूमिमा कुलमानले २०७५ वैशाख अन्तिममा लोडसेडिङ अन्त्य गरेका थिए।