काठमाडौं । भक्तपुर नगरपालिकामा पछिल्लो चार दिन यता उल्लेख्य संख्यामा मानिसको घुइँचो लागेको छ। नगरपालिकाले आयोजना गरेको महोत्सवमा सहभागी हुन हजारौंको संख्यामा मानिसहरु भक्तपुर पुगिरहेका छन्।
भोलिसम्म जारी रहने महोत्सव गत शुक्रबार सुरु भएको थियो। एक दिनमा करिब एक लाख आन्तरिक पर्यटक महोत्सवको क्रममा भक्तपुर पुग्ने गरेको नगरपालिकाले जनाएको छ। दुई दिन बिदाको समयमा प्रत्येक दिन करिब दुई लाखको संख्यामा आन्तरिक पर्यटक भक्तपुर पुगेको समेत जनाइएको छ।
आज महोत्सवमा विभिन्न विद्यालयबाट विद्यार्थीहरुलाई भ्रमण गराउने नगरमा ल्याइँदैछ। आन्तरिकसँगै बाह्य पर्यटकको समेत अहिले भक्तपुरमा घुइँचो लागेको छ।
नगरको विभिन्न ३२ स्थानमा सांस्कृतिक र ऐतिहसिक प्रदर्शनी चलिरहेको छ। नेवारी खाजा स्टलहरुमा आन्तरिक पर्यटकको भिड छ।
दरबार क्षेत्रसँगै न्यातपोल र दतात्तय क्षेत्रमा सांस्कृतिक कार्यक्रम चलिरहेको छ। यस्तै, विभिन्न स्थानमा पौभा प्रदर्शनी, चित्रकला र छ्वालीकला प्रदर्शनी, परम्परागत पोशाक प्रदर्शनी, हलिमलि प्रदर्शनी, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी, परम्परागत धागो रंगाउन प्रयोग हुने सामाग्री प्रदर्शनीमा राखिएको छ।
भक्तपुरकी जीवित देवी कुमारीको समेत महोत्सवमा दर्शन गर्न सकिनेछ। यस्तै, दिपंकर बुद्ध , नवदुर्गा लगायत देवदेवीहरुको समेत प्रदर्शनी भइरहेको छ।
परम्परागत खेलकुद प्रदर्शनीसँगै नौ बाजा प्रदर्शनी, दही महोत्सव, बौद्ध प्रकाशन र तस्बिर प्रदर्शनी, सहकारीहरुको गतिविधि प्रदर्शनी, बालबालिकामैत्री गतिविधि तथा सांस्कृतिक कार्यक्रम, कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनी, व्यापार मेला, पुस्तक प्रदर्शनी, बुद्ध अस्तु तथा बौद्ध दर्शनसम्बन्धी प्रदर्शन, परम्परागत तोरीको तेल बनाउने प्रदर्शनीसमेत भइरहेको छ।
महोत्सव सफलताका साथ संचालन भइरहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। उनले विदेशी पर्यटकलाई आकर्षित गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्धन गर्न भक्तपुर महोत्सवको आयोजना गरिएको बताए।
उनले यो महोत्सवले स्थानीय उत्पादनको समेत प्रवर्धन भइरहेको बताए। महोत्सव पुस २ गते (भोलि) सम्म संचालन हुनेछ।