BIZMANDU
www.bizmandu.com

सूर्य सिलवालप्रति अख्तियार प्रमुख आक्रामक, नागरिकता किर्ते मुद्दापछि बीमाको लाइसेन्स वितरणमा अनुसन्धान

२०८१ मंसिर ३०

सूर्य सिलवालप्रति अख्तियार प्रमुख आक्रामक, नागरिकता किर्ते मुद्दापछि बीमाको लाइसेन्स वितरणमा अनुसन्धान
सूर्य सिलवालप्रति अख्तियार प्रमुख आक्रामक, नागरिकता किर्ते मुद्दापछि बीमाको लाइसेन्स वितरणमा अनुसन्धान

काठमाडौं। नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्स्योरेन्सको लाइसेन्स वितरणलाई लिएर छानबिन थालेको छ।

Tata
GBIME

अख्तियारले प्राधिकरणको सञ्चालक समितिको बैठकको माइन्युट र अन्य कागजात मगाएर छानबिन थालेको हो। अख्तियारले लाइसेन्स वितरणका विषयमा छानबिन गर्न प्राधिकरणको बोर्ड बैठकको निर्णय र अरु कागजात माग गरेकामा पठाइएको प्राधिकरण स्रोतले बतायो।

‘माइक्रो इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्सलाई लाइसेन्स दिने प्राधिकरणको निर्णय बारेमा अख्तियारले माइन्युट र अन्य कागजात मागेको थियो,’ प्राधिकरण उच्च स्रोतले भन्यो, ‘हामीले माइन्युट पठाइदिएका छौं।’

सिलवालले व्यापारिक घरानाको स्वार्थमा सातवटा लघुबीमा र हिमालयन रि-इन्स्योरेन्सलाई लाइसेन्स दिएका थिए। २०७७ माघमा अध्यक्ष नियुक्त भएका सिलवालले चार महिनामै हिमालयन रि-इन्स्योरेन्सलाई लाइसेन्स दिएका थिए।

त्यसको डेढ वर्षपछि २०७९ मंसिरमा सातवटा माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स बाँडिएको थियो।

स्रोतका अनुसार अख्तियारले सञ्चालक समितिबाहेक सिलवालले गरेका नीतिगत निर्णय र सम्बन्धित कागजात पनि मागेको छ। सरकारको लगानी रहेको नेपाल रि-इन्स्योरेन्सको बिजनेस खोस्नेगरी गरेका निर्णयमा अख्तियारको बढ्ता चासो रहेको स्रोतको भनाइ छ।

कार्यकालको सुरुदेखि नै विवादमा तानिएका सिलवालले इन्स्योरेन्स कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न स्वीकृति दिएको विषय पनि विवादित छ। प्रिमियम मूल्यमा आइपीओ स्वीकृतिविरुद्ध पनि अख्तियारमा उजुरी छ।

अख्तियारले कार्यकालको अन्तिममा व्यापारिक घरानाको स्वार्थमा इन्स्योरेन्सको नयाँ लाइसेन्स दिने योजना अगाडि बढाएका थिए। माघ १९ गते कार्यकाल सकिन लागेकाले उनले ४ वटा कम्पनीलाई इन्स्योरेन्सको दिन गृहकार्य थालेकामा अख्तियारले मुद्दा दायर गरेपछि लाइसेन्स यो च्याप्टर क्लोज भइसकेको छ।

सिलवाल अहिले मुद्दा दायरका कारण निलम्बनमा छन्। उनीविरुद्ध नागरिकतामा जन्ममिति तीन वर्ष घटाइ लाभ लिएको पाइएको भन्दै अख्तियारले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायरपछि सिलवाल स्वत: निलम्बनमा परेका हुन्।

सिलवाल बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल एसोसियसन अफ सुपरभाइजर्स (आईएआईएस) को वार्षिक बैठकमा भाग लिन प्राधिकरणका प्रतिनिधिसहित दक्षिण अफ्रिकाको राजधानी केपटाउन पुगेर मंसिर २३ गते स्वदेश फर्किएका थिए।

सिलवाल अवकाशप्राप्त सचिव हुन्। उनी गृह मन्त्रालयमा सचिव हुँदा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई सहसचिव थिए। राजनीतिक आधारमा दुवैजना एमाले निकट हुन्। एमालेसँगको निकटताकै कारण अवकाशपछि सिलवालले प्राधिकरणको अध्यक्ष र राईले अख्तियार प्रमुखको नियुक्ति पाएका थिए।

सिलवाल निलम्बनमा परेसँगै प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव मदन दाहाललाई दिएका छन्।