BIZMANDU
www.bizmandu.com

जग्गा विवादपछि समातिए कर्जा दुरुपयोगमा दोषी ठहर शशी श्रेष्ठ, एक दशकदेखि थिए फरार

२०८१ मंसिर ३०

जग्गा विवादपछि समातिए कर्जा दुरुपयोगमा दोषी ठहर शशी श्रेष्ठ, एक दशकदेखि थिए फरार
जग्गा विवादपछि समातिए कर्जा दुरुपयोगमा दोषी ठहर शशी श्रेष्ठ, एक दशकदेखि थिए फरार


काठमाडौं । नेपाल बैंक लिमिटेडका पूर्व उप-निर्देशक शशी किरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

शुक्रबार प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो। बैंकमा हुँदा कर्जा दुरुपयोग गरेको आरोपमा विशेष अदालतले २०६८ भदौमा उनलाई दोषी ठहर गरेको थियो। त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले पनि २०७३ असोजमा विशेषकै फैसला ठहर गरेको थियो। ६ महिना भन्दा बढी कैद सजाय र जरिवाना तोकिएका श्रेष्ठ भने फरार रहेका थिए। उनी लामो समयदेखि फरार रहे पनि आफ्नै निवासमा भेटिएका हुन्।

छाउनीमा रहेको घरमा बसिरहेको अवस्थामा उनी समातिएको एक प्रहरी अधिकृतले जानकारी दिए। उनी मुद्दा फैसला भएदेखि नै आफ्नै घरमा बस्दै आएको देखिएको छ। तर पनि सरकारी निकायले उनलाई यतिका वर्षसम्म पक्राउ गर्न सकेको थिएन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ३९ करोड ८९ लाख ३१ हजार रुपैयाँ कर्जा हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। श्रेष्ठको सम्बन्ध पूर्व राजपरिवार खलकसँग जोडिएको छ। उनी बसेको घर जग्गामा आफन्तसँग विवाद भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

‘घर जग्गाको विवाद हेर्दै जाँदा उनी त फरार व्यक्ति देखियो। त्यसपछि हामीले पक्राउ गरेका हौं,’ अनुसन्धानमा खटिएका एक प्रहरीले सुनाए।

पक्राउ परेका श्रेष्ठलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले अदालतमा उपस्थित गराउन उनी सकिएन। सोमबार मात्र अदालतमा उनलाई उपस्थित गराउने प्रहरीले जानकारी दिएको छ।