काठमाडौं। बजारमा दैनिक उपभोग्य वस्तुको भाउ सस्तिन थालेको छ। केही समययता हरिया तरकारीको भाउ आकाशिएको बेला खाद्यानको भाउ घट्दा उपभोक्तालाई राहत मिलेको छ।
व्यवसायीका अनुसार यतिबेला बजारमा चामल, दाल, तेल र चिनी लगायत खाद्यान्नको भाउ घटिरहेको छ। धानको सिजन सुरु भएसँगै बजारमा चामलको मूल्य घट्न थालेको हो।
भारत सरकारले चामल निर्यातमा लगाउँदै आएको कर घटाएपछि चामलको भाउ गत महिनादेखि घटिरहेको थियो। दालको भाउ पनि सरकारले भन्सार घटाएपछि घट्न थालेको छ।
सरकारी कम्पनीले चिनीको आयात गरेपछि खुद्रा बजारमा चिनीको मूल्य घटेको व्यवसायीले बताएका छन्। थोक तथा खुद्रा किराना व्यवसायी संघका अनुसार चालमको मूल्य बोरामा १५० रुपैयाँ घटेको छ।
दाल केजीमा ७ प्रतिशतसम्म घटेको छ। चिनीको मूल्य पनि केजीमा ५ रुपैयाँभन्दा बढी घटेको हो।

थोक तथा खुद्रा किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार गत महिनादेखि बजारमा खाद्यानको भाउ सस्तिन थालेको छ। नयाँ धानको सिजन सुरु भएपछि चामल बोरामा १५० रुपैयाँ घटिसकेको छ।
तिहार अघिदेखि हालसम्म चामलको भाउ बोरामा ५ सय रुपैयाँसम्म सस्तिएको उनले बताए। जिरा मसिनो चामल बोरामा २१०० रुपैयाँ र मन्सुली मोटा चामल बोरामा १६०० देखि १७०० रुपैयाँ छ। यसअघि चामलको भाउ बढेर बोरामा २६ सय रुपैयाँसम्म पुगेको थियो।
त्यस्तै, सरकारले दाल आयात गर्दा लगाएको अग्रिम कर घटाएपछि भाउ ७ प्रतिशतसम्म घटेको हो। २.५ प्रतिशतबाट १० प्रतिशत बनाएको अग्रिम कर घटाएपछि बजारमा दालको भाउ सस्तिएको उनको भनाइ छ।
अग्रिम कर बढेपछि बजारमा दालको भाउ केजीमा १५ रुपैयाँसम्म बढेको थियो। अग्रिम करले गर्दा मुसुरोको दाल १६० रुपैयाँ र अन्य दाल प्रतिकेजी २०० रुपैयाँभन्दा बढी थियो।

सरकारी कम्पनीले चिनी आयात गरेपछि खुद्रा बजारमा पनि भाउ घट्न थालेको अध्यक्ष श्रेष्ठले बताए। अब स्वदेशी चिनी पनि आउन थालेको छ।
पहिले प्रति केजी १०५ रुपैयाँभन्दा बढी पर्ने गरेकोमा अहिले थोक व्यवसायीलाई प्रतिकेजी ९५ रुपैयाँ पर्ने गरेको छ। उपभोक्तालाई ९८ रुपैयाँदेखि १०० रुपैयाँ पर्नेछ।
साथै, भारततर्फ तेलको निर्यात बढिरहे पनि स्थानीय बजारमा भाउ नबढेको व्यवसायीले बताएका छन्। हाल बजारमा सूर्यमुखी तेल कार्टुनमा २१५० रुपैयाँ छ।
भटमासको तेल कार्टुनमा २२ सय रुपैयाँ पर्छ। भटमासको तेल महँगिन थालेपछि बजारमा यसको खपत कम भएको पाइएको छ। तोरीको तेलको मूल्यमा खासै घटबढ छैन।

किराना व्यवसायी कृष्ण भट्टका अनुसार गत सातादेखि बजारमा चामल, दाल, तेल र चिनीको भाउ घट्न थालेको छ। सबै प्रकारका खाद्यान सहज रुपमा पाइरहेको छ।
भाउ पनि पहिलेभन्दा सस्तो हुन थालेको उनले बताए। खाद्यको बिक्री सामान्य रहेको उनको भनाइ छ।
व्यवसायीका अनुसार हाल बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छैन। यतिबेला अन्य समयको भन्दा खाद्यान बिक्री पनि कम हुने गरेको छ।
चाडपर्व अघिसम्म बजारमा बढिरहेको खाद्यानको भाउ मंसिर लागेपछि दैनिक घटिरहेको हो।