BIZMANDU
www.bizmandu.com

विज्ञको चेतावनी : नेपालका वित्तीय क्षेत्र साइबर आक्रमणको बढी जोखिममा छन्

२०८१ मंसिर २९

विज्ञको चेतावनी : नेपालका वित्तीय क्षेत्र साइबर आक्रमणको बढी जोखिममा छन्
विज्ञको चेतावनी : नेपालका वित्तीय क्षेत्र साइबर आक्रमणको बढी जोखिममा छन्


काठमाडौं। नेपालका वित्तीय क्षेत्र साइबर आक्रमणको बढी जोखिममा रहेको यससम्बन्धी विज्ञहरूले बताएका छन्।

Tata
GBIME
NLIC

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज् (नासआइटी) र प्रविधि पत्रकार मञ्च (टीजेएफ)को सहकार्य तथा लगपोइन्टको व्यवस्थापनमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी विज्ञले यस्तो बताएका हुन्।

प्रशिक्षण कार्यक्रममा साइबर सुरक्षामा काम गर्ने कम्पनी लगपोइन्टका प्रमुख सुरक्षा सूचना अधिकारी रोशन पोख्रेलले प्रविधिको विकासले जनजीवन सहज भएतापनि प्रयाप्त रूपमा सतर्कता नअपनाउँदा साइबर आक्रमणमा नेपालको स्थिति जोखिमपूर्ण रहेको बताए। उनले नेपालमा कुन क्षेत्रमा कस्ता साइबर आक्रमण हुन सक्छन् र कसरी जोगिने भन्नेबारे जानकारी गराएका थिए।

नेपालमा साइबर सुरक्षाका बारेमा जानकारी कम भएको तथा विभिन्न माध्यमबाट स्क्याम भइरहेको बताए। उनले साइबर सुरक्षाका आधारभूत तत्वका बारेमा प्रकाश पार्दै आफू कसरी सुरक्षित रहने र अन्यलाई पनि सुरक्षित रहन कसरी जानकारी दिने भन्ने जानकारी दिए।

प्रशिक्षणमा लगपोइन्टका डाइरेक्टर अफ प्रोडक्ट म्यानेजमेन्ट बासुदेव रावतले साइबर सुरक्षामा गोपनीयता, वस्तुनिष्‍ठता र उपलब्धता जस्ता विषयमा जानकारी दिए। उनले साइबर आक्रमण र त्यसपछिका चुनौती र त्यसको व्यवस्थापनका बारेमा जानकारी गराए।

उनले साइबर आक्रमणका घटना कसरी र किन हुन्छ? अन्य मुलुकबाट के र कसरी सिक्ने? कुन-कुन देशमा कस्ता क्षेत्र जोखिममा छन् भन्ने बारे जानकारी दिए।

त्यस्तै, बिजसर्भ आइटीका प्रमुख कार्यकारी अधिकृत सीइओ प्रभात पोख्रेलले नेपालमा साइबर सुरक्षाको अवस्थाका बारेमा जानकारी दिए। नेपालमा साइबर आक्रमणको दर बढ्दो भएको भन्दै सुरक्षाका विषयमा विद्यालय स्तरबाटै सचेतना कार्यक्रम संचालन हुनुपर्ने बताए।

नेपालमा इन्टरनेट प्रयोगकर्ता बढ्दै जानु, ई-कमर्स क्षेत्र फस्टाउनुसँगै ती क्षेत्र अपराधीको निशाना बन्दा जोखिम र चुनौती पनि थपिदै गएको बताए।

आक्रमणका घटना अधिकांश विकसित मुलुकमा हुने गरेको र त्यसको कारण डेटामा पहुँच पुर्‍याउनु रहेको बताए। ती देशमा महत्त्वपूर्ण सूचना र तथ्यांक सुरक्षा निकाय, राजनीतिज्ञ, पत्रकारहरूसँग हुने भएकाले उनीहरू केन्द्रमा रहेको जानकारी दिए।

विश्वमा सैन्य, वित्त क्षेत्र र व्यापारिक क्षेत्रमा बढी बढी आक्रमण हुने गरेको तर नेपालमा बैंकिङ क्षेत्र र ई-कमर्स बढी जोखिममा रहेको बताए।

नास आइटीका महासचिव दीपेन चापागाइँले नेपालमा पछिल्लो प्रविधि र साइबर जोखिमका विज्ञ नेपालमा खासै नभएको तथा नेपाल र नेपालीलाई हुनसक्ने जोखिम आफ्नो पनि भएको बताए।

लगपोइन्टका निर्देशक प्रकाश थापाले नेपालमा विगत १५ वर्षदेखि प्रविधिको क्षेत्रमा काम गरिरहेको तथा आफ्नो मुख्य बजार युरोप र अमेरिकामा भएकाले त्यहाँका साइबर सुरक्षाका बारेमा भएको अनुभवको बारे आवस्यक परेको खण्डमा सरकार र सरोकारवाला निकायसँग समन्वय गर्दै जोखिम न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

यस्तै, नासआइटीका कोषाध्यक्ष अभय पौडेलले प्रविधिको विकाससँगै सुरक्षा चुनौती पनि थपिएकाले प्रयोगकर्तामा सही जानकारी र नीति निर्मातासँग सहकार्य हुनुपर्ने बताए।