काठमाडौं। असोज दोस्रो साता बाढीपहिरोले पुगेको क्षतिका कारण १२ अर्ब ३६ करोड ६५ लाख रुपैयाँको दाबी परेकामा इन्स्योरेन्स कम्पनीले मंसिर २६ गतेसम्म १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन्।
कम्पनीहरुले भुक्तानी गरेको रकम दाबीको ९.६७ प्रतिशत मात्रै हो। नेपाल बीमा प्राधिकरणका अनुसार डेढ दर्जन निर्जीवन बीमा कम्पनीले १ हजार ५१४ दाबी भुक्तानी गरेका हुन्।
बाढीपहिरोका कारण बीमा कम्पनीमा ३ हजार ५४९ दाबी परेको थियो। शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३० करोड ३८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। यस कम्पनीमा १ अर्ब १५ करोड ९५ लाख रुपैयाँको दाबी परेको थियो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सर्वाधिक २ अर्ब ६२ करोड रुपैयाँको दाबी परेकामा उसले २५ करोड ५२ लाख रुपैयाँ भुक्तानी गरेको छ।
प्राधिकरणका अनुसार बाढीपहिरोले सम्पत्ति बीमाको सर्वाधिक ९ अर्ब रुपैयाँको दाबी आएकामा ८७ करोड ४९ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको छ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा २ अर्ब ६० करोड रुपैयाँ दाबी परेकामा ४ करोड ४३ लाख रुपैयाँ भुक्तानी भएको छ।