BIZMANDU
www.bizmandu.com

बजारमा बढ्यो तरकारीको आपूर्ति, कालीमाटीमा दैनिक भित्रिन्छ ९०० टन, सस्तियो भाउ

२०८१ मंसिर २७

बजारमा बढ्यो तरकारीको आपूर्ति, कालीमाटीमा दैनिक भित्रिन्छ ९०० टन, सस्तियो भाउ
बजारमा बढ्यो तरकारीको आपूर्ति, कालीमाटीमा दैनिक भित्रिन्छ ९०० टन, सस्तियो भाउ

काठमाडौं। असोज दोस्रो साताको बाढी पहिरोपछि अत्यधिक महँगिएर थोक बजारमै १५० रुपैयाँसम्म पुगेको गोलभेडाको भाउ दुई तिहाइले घटेको छ।

Tata
GBIME

गोलभेडाको भाउ थोक बजारमा ५० रुपैयाँसम्म आइपुगेको छ। टनेलको गोलभेडाको भाउ प्रति केजी ५० देखि ६५ रुपैयाँमा झरेको कालीमाटी तरकारी बजारका व्यवसायीहरुले बताए।

उनीहरुका अनुसार सानो गोलभेडा पनि थोक बजारमा ५० देखि ६५ रुपैयाँमा पाइन्छ। तराईको सानो गोलभेडाको मूल्य प्रति केजी ६० देखि ८५ रुपैयाँ छ।

नेपाल तरकारी तथा फलफूल महासंघका अध्यक्ष भरत खतिवडाले आपूर्ति बढ्दै गएका कारण भाउ घटेको र गोलभेडा अझै सस्तो हुने बताए। ‘अहिले बजारमा तराईको गोलभेडा आउने क्रम बढेको छ। त्यही भएर भाउ निरन्तर घट्न थालेको हो। गोलभेडा अझै सस्तिन्छ,’ उनले भने।

गोलभेडा मात्र होइन अरु तरकारीको भाउ पनि घट्न थालेको छ। काउली, आलु, बन्दा, मुला, गाँजर लगायतको मूल्य घटेको व्यवसायीहरुले बताए। थोक बजारमा आलुको भाउ प्रति केजी ६५, गाँजर ९०, बन्दा ४५ र काउली ६० रुपैयाँमा आइपुगेको छ।

‘अहिले तराईका जिल्लाबाट हरियो तरकारी ठूलो परिमाणमा आउन आउन थालेको छ। त्यही कारण भाउ घटेको हो,’ खतिवडाले भने।

दुई साता अघिसम्म कालीमाटीमा दैनिक ५०० टन हाराहारी तरकारी आइरहेकामा अहिले ९०० टनसम्म भित्रिरहेको छ।

त्यस्तै प्याजको मूल्य प्रति केजी ९५ रुपैयाँमा आइपुगेको छ। भारतमा उत्पादन बढ्नुमा साथै निर्यातमा लगाएको शुल्क घटाएपछि प्याजको मूल्य घट्न थालेको हो। प्याजको भाउ प्रति केजी एक सय ३० रुपैयाँसम्म पुगेको थियो।

 तने बोडी, मटरकोसा, टाटेसिमी, बरेला, बकुल्ला, च्याउ, कुरिलो, बोक्राउलीको भाउ भने प्रति केजी १०० रुपैयाँभन्दा माथि छ।