BIZMANDU
www.bizmandu.com

आन्तरिक उडानमा जाडोयामको प्रभाव, हुस्सुका कारण दुई दर्जनभन्दा बढी उडान प्रभावित

२०८१ मंसिर २५

आन्तरिक उडानमा जाडोयामको प्रभाव, हुस्सुका कारण दुई दर्जनभन्दा बढी उडान प्रभावित
आन्तरिक उडानमा जाडोयामको प्रभाव, हुस्सुका कारण दुई दर्जनभन्दा बढी उडान प्रभावित


काठमाडौं। जाडोयामको प्रभावका कारण आन्तरिकतर्फ दुई दर्जनभन्दा बढी उडान प्रभावित भएका छन्। खासगरी विराटनगर, जनकपुर, सिमरा लगायत गन्तव्यका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।

Tata
GBIME
NLIC

‘आज साँझ ५ बजेसम्मको उडान विवरण हेर्दा विराटनगर विमानस्थल खुल्न सकेको छैन,’ प्रवक्ता शेर्पाले भने, ‘जनकपुर पनि दिउँसो मात्र खुलेको हो। विभिन्न विमानस्थलमा दुई दर्जनभन्दा बढी उडान प्रभावित भएको देखिन्छ।’

बुद्ध एयरले विराटनगरतर्फ दैनिक ८ वटा उडान गर्दै आएको छ। हुस्सुका कारण साँझसम्म उडान गर्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णले जानकारी दिए।

विराटनगरमा यती एयरलाइन्सले दैनिक ६ वटा र श्री एयरलाइन्सले दैनिक ४ वटा उडान गर्दै आएका छन्। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विराटनगरका साथै तराईका अधिकांश विमानस्थलमा हुस्सुका कारण उडान प्रभावित भएको बताए।

विमानस्थल कार्यालयका अनुसार भद्रपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल पनि ढिला खुल्ने गरेका छन्। जसका कारण उडान संख्या घटेको छ। आन्तरिकतर्फ मंगलबार विभिन्न वायुसेवा कम्पनीको ११९ उडान गर्ने तालिका थियो।