BIZMANDU
www.bizmandu.com

कर्मचारीलाई काममा ‘माओवादीपन’ देखाउन प्रचण्डको सुझाव, ‘भ्रष्टाचारविरुद्ध कठोर हुनु’

२०८१ मंसिर २४

कर्मचारीलाई काममा ‘माओवादीपन’ देखाउन प्रचण्डको सुझाव, ‘भ्रष्टाचारविरुद्ध कठोर हुनु’
कर्मचारीलाई काममा ‘माओवादीपन’ देखाउन प्रचण्डको सुझाव, ‘भ्रष्टाचारविरुद्ध कठोर हुनु’

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निकट कर्मचारीलाई माओवादीपन देखाउन आग्रह गरेका छन्।

Tata
GBIME

नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८औं स्थापना दिवसको अवसरमा सोमबार उनले कर्मचारीहरुलाई भ्रष्टाचारविरुद्ध कठोर रुपमा प्रस्तुत हुन र समाजवादको भ्रुण रोप्ने फौजको रुपमा काम गर्न बग्रह गरे।

‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारविरुद्ध कठोर रुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्‍याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ। यसमा दृढतापूर्वक अघि बढ्नुहोला,’ उनले भने।

उनले २०६४ मा जनताले गरेको विश्वास र भरोसा कायम राख्न नसकेको भन्दै पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गरी विकास र समृद्धिमा अगाडि जान नसक्दा आन्दोलन पछि परेको बताए।

‘विगतमा राम्रो गर्न खोज्दाखोज्दै पनि केही ठाउँमा आत्मसमीक्षा गर्ने ठाउँमा पुगेकै छौं,’ प्रचण्डले भने, ‘हामीले हाम्रा एजेण्डालाई जसरी दृढतापूर्वक अगाडि बढाउनुपर्ने थियो, त्यसमा कमजोरी भयो। हाम्रो वर्ग र समुदायप्रतिको निष्ठा र लगाव कमजोर हुँदै गयो। यसको गहिरो आत्मसमीक्षा गर्ने ठाउँमा हामी आइपुगेका छौं।’

उनले आत्मसमीक्षा गरेर पार्टी समाजवादको बाटोमा अघि बढिसकेको दाबी गरे।

‘विगतका सबै अनुभवबाट शिक्षा लिँदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको भ्रुण रोप्ने काम गरिएको छ,’ उनले भने।