काठमाडौं। विशेष अदालतले नेपाल वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार प्रकरणमा चार जनालाई दोषी ठहर गरेको छ। निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर भएका हुन्।
तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई भने अदालतले सफाइ दिएको छ। तीन दिनको लामो प्रयासपछि अदालतले बिहीबार राति फैसला सुनाएको हो।
अदालतले निगमका तत्कालीन महाप्रबन्धक कंसारकालाई दुई वर्ष ९ महिना कैद सजाय सुनाएको छ। कंसारकारलाई बिगोको दामासाही पर्न आउने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवानको फैसला गरेको छ।
ज्येष्ठ नागरिक ऐन अनुसार कंसाकारले ५० प्रतिशत सजाय छुट पाउनेछन्।
यस्तै, निगम सञ्चालक समिति अध्यक्ष एवं पूर्वसचिव शंकरप्रसाद अधिकारीलाई एक वर्ष ९ महिना कैद गरेको छ। यस्तै, बिगोको दामासाही पर्न आउने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवानको फैसला गरेको छ।
पूर्वसचिव शिशिरकुमार ढुंगानालाई अदालतले एक वर्ष ६ महिना कैद सजाय सुनाएको छ। यस्तै, बिगोको दामासाही पर्न आउने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवानको फैसला गरेको छ।
यस्तै निगम सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछानेलाई एक वर्ष ६ महिना कैद सजाय अदालतले गरेको छ। बिगोको दामासाही पर्न आउने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवानको फैसला लामिछानेको हकमा पनि भएको छ।
३१ मध्येका अन्य प्रतिवादीले सफाइ पाएका छन्।