काठमाडौं। वित्तीय सूचक ऋणात्मक तर मूल्य बढेको बढ्यै- सेयर बजारमा ‘लो क्याप’ भएका कम्पनीको अवस्था हो यो।
मंगलबार नेप्से १७.८० अंक उकालो लाग्दा हाइड्रोपावरको सूचक १.८५ प्रतिशतले बढ्यो। सेयर मूल्य सबैभन्दा धेरै हुने अधिकांश कम्पनी न्यून सेयर संख्या भएकाहरु हुन्।
सर्वाधिक मूल्य बढ्ने ५ कम्पनीको सूचीमा हाइड्रोपावर कम्पनी नै छन्। इङ्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रति कित्ता मूल्य ६५६ रुपैयाँ पुगेको छ।
कम्पनीले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा १ लाख रुपैयाँ खुद नाफा कमाएको छ, प्रति सेयर आम्दानी ०.०७ रुपैयाँ छ। तैपनि कम्पनीको सेयर मूल्य लगातार उकालो लागेर पछिल्लो एक वर्षमा तीन गुणा बढेको छ।
कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ। यो कम्पनीको नेप्सेमा सूचीकृत पब्लिक सेयर संख्या १८ लाख कित्ता मात्रै छ।
दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य पनि सर्किट लागेर प्रति कित्ता ३१२ रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख छ। यो कम्पनीको पब्लिक सेयर संख्या ७ लाख ९२ हजार मात्रै हो।
सुपरमादी हाइड्रोपावरको सेयर मूल्य १०९५ रुपैयाँ पुगेको छ। कम्पनीको सेयर मूल्य एक वर्षमा ३२४ रुपैयाँबाट वृद्धि भएर तीन गुणा माथि पुगेको हो। कम्पनीको पब्लिक सेयर हिस्सा ३३ लाख कित्ता मात्रै छ।
जोशी हाइड्रोपावरको सेयर भाउ मंगलबार सर्किट लागेर प्रति कित्ता ४१० रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा कम्पनी ४८ लाख रुपैयाँ नोक्सानीमा छ।
तैपनि कम्पनीको मूल्य बढेको बढ्यै छ। कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रहेकामा पब्लिक सेयर १६ लाख ९० हजार कित्ता मात्रै सूचीकृत छ।
यस्तै, खानीखोला हाइड्रोपावरको सेयर भाउ ३५४ रुपैयाँ पुगेको छ। कम्पनीको यो सेयर मूल्य पछिल्लो एक वर्षयताकै उच्च हो।
वित्तीय अवस्था खासै राम्रो नभए पनि कम्पनीको मूल्य लगातार उकालो लागिरहेको छ। ४६ करोड ५७ लाख चुक्ता पुँजी रहेकाो यो कम्पनीको पब्लिक सेयर १३ लाख ९७ हजार कित्ता मात्रै छ।
पब्लिकमा सूचीकृत सेयर मात्रै बजारमा दैनिक कारोबारमा आउने भएका कारण थोरै सेयर संख्या भएका कम्पनीमा चलखेल गरेर मूल्य बढाउने गरिएको बजारका जानकारहरु बताउँछन्।
विशाल बजार कम्पनीको सेयर मूल्य पछिल्लो पाँच कारोबार दिनदेखि लगातार उकालो लागिरहेको छ। कम्पनी एक्लैले ट्रेडिङ समूह मात्रै नभएर नेप्से सूचक नै हल्लाइरहेको छ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्दा पब्लिक सेयर संख्या ४ लाख १८ हजार कित्ता मात्रै छ। एफपीओको हल्ला चलाएर यो कम्पनीको सेयर मूल्य पछिल्लो ५ दिनमा प्रति कित्ता २ हजार ८०० रुपैयाँ बढाइएको छ। वर्षौदेखि वित्तीय विवरण नै सार्वजनिक नगरेको र लगानीकर्ताले कुनै लाभांश नपाएको कम्पनीको सेयर भाउ प्रति कित्ता ७ हजार माथि पुर्याइएको छ।
मंगलबार फाइनान्सको सूचक १.३९ प्रतिशतले बढ्दा १२ वटा कम्पनीमा हरियाली देखियो। तर मूल्य बढ्ने सबैजसो फाइनान्स कम्पनी खराब वित्तीय अवस्थाबाट गुज्रिरहेका छन्।
यस्तै अवस्था विकास बैंक र माइक्रोफाइनान्सको छ। ‘लो क्याप भएका कम्पनीको सेयर केही लगानीकर्ताको हातमा हुन्छ। उनीहरुले मूल्य बढाउन त्यसैअनुसार बजारमा खेलिरहेका हुन्छन्,’ एक ब्रोकरले भने, ‘त्यसैले कम्पनीको वित्तीय अवस्था कमजोर भएपनि मूल्य बढाउने काम भइरहेको छ।’
खराब वित्तीय अवस्थाका कम्पनीमा पैसा हाल्दा लगानीकर्ता फस्छन्। यसको उदाहरणका रुपमा नेपाल फाइनान्सका लगानीकर्तालाई लिन सकिन्छ। यो कम्पनीको सेयर मूल्य गत असारपछि दिन दिनै उचालेर प्रति कित्ता २८०० रुपैयाँसम्म पुर्याइएकामा अहिले १३०० रुपैयाँ छ।
लोक्याप भएका र वित्तीय अवस्था खराब भएका कम्पनीको मूल्य बढाउन सामाजिक सञ्जाल क्लब हाउसमा गिरोह नै सक्रिय छन्। तिनको गतिविधिमा नियामक निकायले आँखा चिम्लिएको छ।
‘हम्रो सेयर बजारमा खेलाडीले चलखेल गर्ने ठाउँ छ। कम्पनीको वित्तीय आधार नै नभइ अनावश्यक हल्ला फ्याँकेर सेयर मूल्य बढाइन्छ। त्यसपछि घट्न थालेपछि सोझा लगनीकर्ता फस्छन्,’ नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले भने, ‘वित्तीय सचेतना कमजोर छ। त्यसैले नियामक निकायको नियमन र सुपरिवेक्षण बलियो बनाउनुपर्छ।’