काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले सञ्चालक समितिको बैठकका क्रममा बस्ने ठाउँको अभाव झेल्नुपरेकाले विद्युत प्राधिकरणमा आफ्ना लागि कार्यकक्ष बनाउन लगाएको प्रष्टीकरण दिएका छन्।
उनले सञ्चालक समितिको बैठक कहिलेकाहीं प्राधिकरणमा पनि बस्ने गरेको र आफू चाँडो आएको अवस्थामा बस्ने ठाउँ नपाएकाले कार्यकक्ष माग गरेको बताए।
‘बोर्ड बैठक हुँदा कहिले म छिटो आएको हुन्छु। कहिले मिटिङभन्दा पहिला ब्रिफिङ लिनुपर्ने हुन्छ। त्यसका लागि कार्यकक्ष बनाइदिनु भनेको थिएँ। उहाँहरुले बनाइदिनुभयो,’ उनले भने।
उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई चेक गर्ने योजना मुताविक प्राधिकरणमा कार्यकक्ष बनाउन लगाएका हुन्। उनले कार्यकक्ष बनाउनका लागि मन्त्रालयका प्रशासन महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनीलाई मंगलबार प्राधिकरणको मुख्यालयमा पठाएका थिए।
त्यसपछि प्राधिकरणले मंगलबार रातारात मन्त्रीका लागि नयाँ कुर्सी, कार्पेट, सोफा, कम्युटरसहितको कार्यकक्ष तयार पारेको थियो।
मन्त्री खड्का त्यो कार्यकक्षको कुर्सीमा बस्न बुधबार अपराह्न दलबलसहित पुगेका थिए। मन्त्रीको पछिपछि ऊर्जासचिव सुरेश आचार्य र मन्त्रीका विज्ञ सल्लाहकार प्रवल अधिकारी पनि गएका थिए।
मन्त्री खड्कालाई उपकार्यकारी निर्देशक मनोज सिलवालले स्वागत गरेका थिए। प्रबन्ध निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोशी आयोजना स्थलमा पुगेका कारण खड्काको कार्यकक्ष प्रवेश समारोहमा थिएनन्।
मन्त्री खड्काले प्राधिकरणमा कार्यकक्ष बनाउनुलाई कुलमानलाई हटाउने योजनाका रुपमा नलिन आग्रह गरे। उनले कुलमानलाई कारबाही गर्ने योजना नै नरहेको बताए।
‘मैले मन्त्री भएदेखि नै सुन्दै आएको छु। भोलि कारबाही गर्ने रे, पर्सी कारबाही गर्ने भनेर पटक पटक सुनेको छु। त्यस्तो केही पनि छैन्,’ उनले संचारकर्मीसामु भने, ‘कारबाही गरेको तपाईंहरुले थाहा नै पाउनुहुन्न।’