BIZMANDU
www.bizmandu.com

पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने : बीआरआईबाट नेपालले लाभ लिनेछ

२०८१ मंसिर १९

पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने : बीआरआईबाट नेपालले लाभ लिनेछ
प्रम ओली पेकिङ विश्वविद्यालयमा बेइजिङ, चीन १९ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा बुधबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । सो कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाली एवं चिनियाँ प्रतिनिधिको उपस्थिति रहेको छ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) बाट नेपालले लाभ लिने बताएका छन्।

Tata
GBIME

बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरेका हुन्।

त्यसक्रममा ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए।

ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताएका थिए। उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि सहकार्य गर्ने प्रस्ताव पनि त्यस क्रममा गरेका थिए।

प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गरेका थिए।

बेइजिङ पुगेका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लि छ्याङबीच हिजो द्विपक्षीय भेटवार्ता भएको थियो। दुवै पक्षबीच ९ वटा विषयमा सहमति भएको छ।

हिजो नै ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि भेट भएको थियो। सो भेट पछि जारी संयुक्त वक्तव्यमा बीआरआईको फ्रेमवर्कमा चाँडोभन्दा चाँडो हस्ताक्षर गर्न दुवै पक्ष तयार रहेको उल्लेख छ।

नेपालले चीन समक्ष बीआरआईको नयाँ फ्रेमवर्क पेस गरेको छ। जसमा चीनले तत्कालै सहमति भने जनाएको छैन।