BIZMANDU
www.bizmandu.com

दुई घण्टामै फेल भयो योलको ‘मार्सल ल’ घोषणा, राष्ट्रपतिको राजीनामा माग्दै सडकमा कोरियाली

२०८१ मंसिर १९

दुई घण्टामै फेल भयो योलको ‘मार्सल ल’ घोषणा, राष्ट्रपतिको राजीनामा माग्दै सडकमा कोरियाली
दुई घण्टामै फेल भयो योलको ‘मार्सल ल’ घोषणा, राष्ट्रपतिको राजीनामा माग्दै सडकमा कोरियाली

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल ‘मार्सल ल’ (सैन्य कानुन) लागू गर्ने घोषणाबाट पछि हटेका छन्। मंगलबार राति टेलिभिजन सम्बोधन गर्दै उनले मार्सल ल घोषणा गरेका थिए। तर, त्यहाँको नेश्नल एसेम्बलीमाे बहुमतले मार्सल ल विरुद्ध मतदान गरेपछि उनी पछि हटेका हुन्।

Tata
GBIME

उत्तर कोरियाली कम्युनिष्ट समूहबाट देशलाई सुरक्षित गर्न मार्सल ल लागू गरेको घोषणा उनले गरेका थिए। विपक्षी दललाई लक्षित गर्दै देश विरोधी तत्वहरुलाई तह लगाउन पनि यो व्यवस्था घोषणा गरेको उनले बताएका छन्। यद्यपि, पछिल्लो समय आफ्नो सरकार कमजोर हुँदै गएको र बजेट लगायतका विधेयक ‘फेल’ हुने अवस्था रहेकोले उनले यो घोषणा गरेको बुझिएको छ।

उनले मार्सल ल कहिलेसम्म लागू हुने र कस्तो प्रकारको व्यवस्थाहरु लागू हुन्छ भन्नेबारे केही बताएका छैनन्।

मार्सल ल लागू भएसँगै दक्षिण कोरियाली सेनाले सबै प्रकारको संसदीय कारबाही निलम्बन गर्ने घोषणा गरेको थियो। संसदमा सांसदहरुलाई प्रवेशमा रोक समेत लगाइएको थियो।

तर, विपक्षी डेमोक्रेटिक पार्टीले मार्सल ल लागू गर्नु असंवैधानिक भएको भन्दै यो घोषणा विरुद्ध सडकमा ओर्लिन सबैमा आह्वान गरेको थियो। उनले आफ्ना दलका सबै सांसदलाई संसद भवनमा भेला हुन भनेका थिए। सेनाले प्रवेश गर्न रोक्दा पनि सांसदहरु भवनको पर्खाल नाघेर संसद भवन पसेका थिए।

नेश्नल एसेम्बलीमा भएको मतदानमा १९० जना बहुमत सांसदले मार्सल ल विरुद्ध मतदान गरेका थिए। दक्षिण कोरियाली कानुन अनुसार नेश्नल एसेम्बलीका बहुमत सांसदले मत दिए मार्सल ल फिर्ता लिनुपर्ने हुन्छ। मार्सल ल ले सांसदहरुलाई पक्राउ गर्न पनि संवैधानिक रुपमा रोकेको छ।

राष्ट्रपतिको घोषणाको दुई घण्टा पछि एसेम्बलीमा मतदान भएको थियो। त्यसको केही समय पछि योलले मार्सल ल फिर्ताको घोषणा गरेका थिए।

राष्ट्रपति योल सदस्य रहेको पार्टी पिपल पावर पार्टीका प्रमुख हान डङ हुनले पनि यो घोषणा गलत भएको प्रतिक्रिया दिएका थिए। मार्सल ल विरुद्ध सत्तारुढ दलले नै मतदान गरेका थिए।

अहिले योलको राजीनामाको माग भइरहेको छ। विपक्षी दलसहित सत्तारुढ दलमा नै अहिले योलविरुद्ध माहोल बनेको छ। दक्षिण कोरियाली नागरिकहरु समेत सडकमा ओर्लिएका योलको राजीनामा माग गरिरहेका छन्।

योल सन् २०२० मा राष्ट्रपति बनेका थिए। पपुलिस्ट एजेन्डा बोकेर निर्वाचन जितेका उनको पछिल्लो समय राजनीतिक प्रभाव घट्दै गएको छ।