काठमाडौं। नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच ग्रेट हल अफ पिपुलस्मा भएको वार्तापछि दुई देशबीच ९ वटा समझदारी भएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार दुई देशबीच टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्र आदानप्रदान भएको छ। यस्तै नेपाल-चीन व्यापार अभिवृद्धि गर्ने समझदारी भएको छ।
काठमाडौंको वसन्तपुरस्थित नौतले दरबारको पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र आदान प्रदानलाई पनि प्रधानमन्त्रीको भ्रमणमा भएको समझदारीमा राखिएको छ।
विकास योजना, आर्थिक तथा प्राविधिक सहयोग, थर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल र नगद सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। स्वयंसेवी चिनियाँ भाषा शिक्षक उपलब्ध गराउने तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी भएको ढकालले जानकारी दिए।

ढकालले कनेक्टिभिटी औद्योगिक विकास, पूर्वाधार विकास, मेडिकल कोअपरेसन पर्यटन, कृषि, व्यापार, लगानी, विज्ञान प्रविधि, खेलकुद, विवद् व्यवस्थापन लगायत विषयमा थप सहयोग आदान प्रदान गर्न वार्ता निकै फलदायी भएको बताए।
प्रधानमन्त्रीको नेतृत्वमा भएको वार्तामा नेपालमा निकै चासोका साथ हेरिएको बीआरआईको विषयले भने प्रवेश पाएन। ‘वार्ता हुँदा र सहमतिका क्रममा बीआरआई भन्ने शब्द उच्चारण नै भएन,’ वार्तामा सहभागी स्रोतले भन्यो।
सरकारी अधिकारीहरुले बीआरआईको विषयमा छलफल नभएको विषयमा आफूहरुले अहिले केही बोल्न नमिल्ने बताए। ‘अहिले यस विषयमा हामीले केही बोल्ने अवस्था छैन,’ ती सरकारी अधिकारीले भने।

चीनले बीआरआई कार्यान्वयन योजनाको मस्यौदा प्रस्ताव गरेकामा ऋण नलिने कांग्रेसको अडानपछि ‘फ्रेमवर्क कोअपरेसन अफ बीआरआई’ तयार पारिएको थियो। दुई दलका नेताले निकै लामो छलफलपछि तयार पारेको ‘फ्रेमवर्क कोअपरेसन अफ बीआरआई’लाई ओली चीन उड्नु अघिल्लो दिन सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो।
प्रधानमन्त्री ली छ्याङसँगको वार्तामा बीआरआईको विषयमा छलफल नभएपनि राष्ट्रपति सी चिनफिङसँगको वार्तामा प्रगति हुनेमा नेपाली अधिकारीहरु आशावादी छन्। ओलीले चिनफिङसँग मंगलबार नै भेटवार्ता गर्ने तालिका छ।
‘चीनमा कार्यकारी प्रमुख राष्ट्रपति भएकाले बीआरआईबारे चिनफिङसँगको भेटवार्तामा कुरा हुन सक्छ,’ स्रोतले भन्यो, ‘संयुक्त वक्तव्य नआएसम्म बीआरआईमा प्रगति भएन भनेर भन्नु हतार हुनेछ।’