काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेतृत्व सम्हालेलगत्तै उच्च पदस्थ कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन्।
बुधबार कार्यभार सम्हालेका श्रेष्ठले बिहिबार विभाग प्रमुख लगायत कर्मचारीसँग ब्रिफिङ लिएपछि कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
उनले सुपरिवेक्षण विभाग हेरिरहेका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई व्यवस्थापन र कानुन विभागमा सरुवा गरेका छन्।
व्यवस्थापन र कानुन विभाग प्रमुख डा. नवराज अधिकारीलाई नीति, अनुसन्धान र तालिम विभागमा सरुवा गरिएको छ। सेबोनमा चार विभागमध्ये नीति, अनुसन्धान र तालिम विभागलाई कमजोर मानिन्छ।
अध्यक्ष श्रेष्ठले कार्यकारी निर्देशक अधिकारीबाट प्रवक्ताको जिम्मेवारी खोसेका छन्। प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पाएका छन्।
यसअघि अनुसन्धान विभागमा रहेका कृष्णराज पोखरेललाई अध्यक्ष श्रेष्ठले सुपरिवेक्षण विभागको जिम्मा दिएका छन्। नियमन विभाग प्रमुख मुक्ति श्रेष्ठलाई भने यथावत राखिएको छ।
सेबोन अध्यक्षमा कार्यकारी निर्देशक अधिकारी र श्रेष्ठले पनि प्रतिस्पर्धा गरेका थिए। उनीहरुलाई पन्छाउँदै सरकारले मंसिर १० गते सन्तोषनारायणलाई अध्यक्ष नियुक्त गरेको थियो।