काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नी ग्रुपसँग सम्झौता गरेको छ।
शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतामा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरेका हुन्।
आजै महिन्द्रा लेखिएको टिमको जर्सीसमेत सार्वजनिक गरिएको छ।
सम्झौताबारे महिन्द्रा, अग्नी ग्रुप उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताएकी थिइन्।
‘आगामी लिगको लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी छौं। कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना,’ उनले भनिन्।
यसैगरी कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता भएको छ। कार्यक्रमा टेन प्लास्टका अध्यक्ष धिरज अग्रवाल र ड्रिम ११ का सिइओ अनिल रिजालको उपस्थित थियो।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। कर्णाली याक्सले गत साता भारतीय क्रिकेटर शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ। उनी एनपिएल खेल्न आज काठमाडौं आउँदैछन्। त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्धित भएका छन्।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ। कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।