काठमाडौं। सुनचाँदीको कारोबार मूल्य पुनः घटेको छ। बिहीबार सुन तोलामा ३ सय र चाँदी ३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ४९ हजार ३ सय रुपैयाँ भएको छ।
सरकारले भन्सार दर घटाउँदा गत सोमबार सुन तोलामा एकैपटक १५ हजार ९ सय रुपैयाँ घटेको थियो भने मंगलबार तोलामा २ हजार ६ सय घटेको थियो। तर, बुधबार ९ सय रुपैयाँ बढ्दा प्रति तोला १ लाख ४९ हजार ६ सय रुपैयाँ भएको थियो।
चाँदीको कारोबार मूल्य पनि बिहीबार घटेको छ। ३० रुपैयाँ घटेर प्रति तोला १ हजार ८ सय रुपैयाँ भएको महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँ बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ। बुधबार प्रति औंस २६४४.८२ डलरले कारोबार भएकोमा बिहीबार घटेर प्रति औंस २६३१.७४ डलर छ। चाँदी प्रति औंस ३०.५८ डलरबाट घटेर २९.८७ डलरले कारोबार भइरहेको छ।